नेपालले युएईलाई १७७ रनले हराउँदै एकदिवसीय मान्यता यथावत् राखेको छ। त्रिवी क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा नेपालले युएईलाई १७७ रनले हराएसँगै आईसीसी विश्वकप लिग २ को अंकतालिकाको शीर्ष पाँच भित्र रहने पक्का भएको छ। आजको जितपछि नेपाल ३६ अंकका साथ चौथो स्थानमा पुगेको छ। एक दिवसीय मान्यता जोगाउनका लागि यो पर्याप्त स्थान हो।
अंकतालिकामा पाँचौं स्थानको अमेरिकाको ३५ अंक छ भने युएईको ३१ र पपुवा न्युगिनीको ११ अंक छ। आजको जितसँगै नेपालको लक्ष्य तेस्रो स्थानमा पुग्ने भएको छ। तर तेस्रो स्थानमा पुग्नका लागि नेपालले बाँकी दुवै खेलमा जित निकाल्नु अनिवार्य छ।
आइतबारको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। त्यसक्रममा ४९ ओभर दुई बल खेल्दै सम्पूर्ण विकेट गुमाएर २४८ रन बनाएपछि नेपालले युएईलाई २४९ रनको लक्ष्य दिएको थियो।
जवाफमा युएई ७१ रनमै अलआउट भएपछि नेपालले १७७ रनको जित निकालेको हो। यो जितका लागि ७७ रनको योगदान दिएका कप्तान रोहित पौडेल प्लेयर अफ दि म्याच बनेका छन्।


