काठमाडौँ- अत्यधिक कर लगाएको विरोधमा नेपाल चलचित्र संघले एक दिन सिनेमा हल गर्ने निर्णय गरेको छ।
३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारेको भन्दै संघले माघ २२ गते सिनेमा हल बन्द गरी सरकारको ध्यानाकर्षण गराउन लागेको हो।
संघले विज्ञप्ति जारी गर्दै चलचित्र क्षेत्रमा लगाइएका विभिन्न करहरू खारेज गर्न माग गरेको छ।
‘अव्यावहारिक करहरुको खारेजीको माग गर्दै सांकेतिक रूपमा आगामी माघ २२ गते सोमबार मुलुकभरका चलचित्र घरहरू बन्द गर्ने निर्णय भएको छ,’ मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।
चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन कर लगाउने व्यवस्थाको विरोधमा संघ छ। संघले मूल्य अभिवृद्धि करबाहेकका कर खारेजीको माग गरेको छ।
अहिले नेपालमा १५० सिनेमा हल सञ्चालनमा छन्।



