काठमाडौँ- पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई गैर इस्लिमक बिहे गरेको आरोपमा ७ वर्षको जेल सजाय सुनाइएको छ। पूर्वक्रिकेटर समेत रहेका खान र उनकी श्रीमती बुसरा बीबीबीच भएको विवाह गैर-इस्लामिक र गैरकानुनी भएको फैसला गरेको हो।
पूर्वप्रधामन्त्री खान र बुसरा बीबीबीच सन् २०१८ मा विवाह भएको थियो। उक्त विवाहलाई गैरकानुनी ठहर गरेको अदालतले खानलाई ७ वर्ष कैद हुने फैसला शनिबार सुनाएको हो।
बीबीका पूर्वपतिले उजुरी दिएको उजुरीमाथि सुनुवाई गर्दै खानलाई जेल सजाय भएको हो। बीबीका पूर्वपतिले खान र बीबीबीचको विवाह धोखाधडी भएको भन्दै मुद्दा दायर गरेका थिए। ४० वर्षीया बीबी खानकी तेस्री पत्नी हुन्। अदालतले बीबीलाई घरमै नजरबन्दमा राख्न अनुमति दिएको छ।
मुस्लिम पारिवारिक कानून अनुसार श्रीमानको मृत्यु भएको वा सम्बन्धविच्छेद भएको केही महिनासम्म महिलाहरूलाई पुनर्विवाह गर्न निषेध हुन्छ। बीबीले सम्बन्धविच्छेदपछि तोकिएको समय नपुग्दै दोस्रो विवाह गरेको अदालतले ठहर गरेको छ।
यसैसाता मात्र खानविरुद्ध तेस्रो पटक पनि अदालतले खानलाई तीन वटा मुद्दामा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो।
अमेरिकी राजदूतले पठाएका गोप्य कागजात चुहावट गरेको अभियोगमा गत मंगलबार उनलाई १० वर्षको जेल सजाय सुनाइएको थियो।
बुधबार मात्र उनी र उनकी श्रीमतीले साउदी युवराजबाट गहनासहित कार्यालयमा प्राप्त राज्य उपहारहरू बेचेको वा राखेको ठहर गर्दै १४ वर्षको जेल सजाय सुनाइएको थियो।
खान भ्रष्टाचारको आरोपमा जेलमै छन्। ७१ वर्षीय खानले आफूविरुद्ध भएका धेरै मुद्दाहरू राजनीतिक रूपमा प्रेरित भएको बताउँदै आएका छन्।
क्रिकेटमा पाकिस्तानी टोलीको कप्तानबाट राजनीतिमा छिरेका खान छोटो समयमा नै प्रधानमन्त्री बन्न सफल भएका थिए। उनी सन् २०२२ मा प्रधानमन्त्री पदबाट हटेका थिए।


