काठमाडौँ- काठमाडौँको धापासीमा एक जना युवकले सँगै बस्ने साथीमाथि हथौडा प्रहार गरी हत्या गरेको खुलेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर ६ धापासीस्थित टहरामा काम गरेको पैसा भुक्तानी नगरेको झोँकमा साथीले नै साथीको हत्याको गरेको खुलेको हो।
उक्त टहरा दिनेश खड्काको भएपनि ओखलढुंगा लिखु गाउँपालिका वडा नम्बर ३ का २३ वर्षीय दिपेश खड्का बस्दै आएका थिए।
दिनेश शनिबार आफ्नो टहरा हेर्न पुगेका थिए। तर ताला लगाइएको थियो। बाहिरबाट दिनेशले भित्र चिहाए। एक जना युवक लडिरहेको थियो। उनले प्रहरीलाई फोन गरे। जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोली घटनास्थल पुगेको थियो। तर ती युवक दिपेश थिए र उनको हत्या भएको थियो।
प्रहरीका अनुसार दिपेशको हत्या बीभत्स हत्या भएको थियो। उनको टाउकोमा पटकपटक हथौडाले हानेको। हथौडाको बिँड पनि घटनास्थलमा छुट्टिएको अवस्थामा फेला परेको थियो।
दिपेशको हत्याको आरोपमा प्रहरीले उनकै गाउँ ओखलढुंगा लिखु गाउँपालिका-३ का १८ वर्षीय विकास थापामगरलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीका अनुसार दिपेश र विकाससँगै बस्ने गरेका थिए।
गाउँबाट केही महिनाअघि विकास काठमाडौँ आएका थिए। दीपेश प्लम्बिङको काम गर्थे। काठमाडौँमा दीपेशसँगै बसेर विकासले दीपेशकै हेल्पर भएर काम गरे। प्रहरीसँगको प्रारम्भिक बयानमा मासिक १५-२० हजार दिने भनेर दीपेशले वाचा गरेपनि पैसा भने नदिएको बताएका छन्। पैसा मागे उल्टै गाली गर्ने गरेको पनि विकासले प्रहरीसँग बताएका छन्।
माघ २६ गते साँझ साढे ६ बजेतिर उनीहरू कामबाट फर्किए। त्यसदिन पनि विकासले पैसा मागे। तर दीपेशले पैसा दिने कुरा गरेनन्। त्यसपछि एक्कासि आवेगमा आएर विकासले दिपेशको टाउकोमा हथौडाले पटकपटक हिर्काएर हत्या गरेका थिए।
अनुसन्धान अधिकारीका अनुसार विकासले दीपेशलाई हथौडाले पटकपटक हिर्काएका थिए। हथौडाको बिँड नफुस्किँदासम्म हिर्काएको देखिएको ती अधिकारीको भनाइ छ।
विकासमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


