काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमीका अवसरमा बुधबार बिहान वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गरेका छन्। राष्ट्रपतिले सरस्वती पूजाको अवसरमा सो स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा छ।
राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो। कार्यक्रममा राष्ट्रपति पौडेलले पूजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरेका थिए। राष्ट्रपति पौडेलले उक्त अवसरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना पनि गरेका थिए ।
वसन्तश्रवण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायतको उपस्थिति थियो। वसन्तपञ्चमीमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ भने वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ।
१२औं शताब्दीमा बंगालका कवि जयदेवद्वारा रचित गीतगोविन्दकाव्यलाई हनुमानढोका दरबारमा राष्ट्रप्रमुखलाई सुनाउने परम्परालाई वसन्त श्रवण भनिन्छ।

वर्षा र जाडोयाममा पतझडविहीन भएको बोटबिरुवामा पालुवा लाग्ने सुन्दर प्राकृतिक चित्रण जयदेवको रचनामा छ। भगवान् श्रीकृष्णले गोपिनीसँग प्राकृतिक सौन्दर्यबीच रसरंग गरिएको गाथा काव्यमा छ। वसन्त श्रवणको बेला ब्याचली राग बजाउने गरिएको छ।
पहिले राजामहाराजाहरुले देश र जनताको अवस्था बुझ्न श्रीपञ्चमीको दिन भेला बोलाउँथे र होलीको दिन खुसियाली मनाउँदै आ-आफ्नो ठाउँमा फर्किन्थे। अहिलेको परम्परा पनि त्यसैको निरन्तरता हो।
सरस्वती पूजाकै दिनदेखि वसन्त ऋतु प्रारम्भ हुने विश्वास छ। वसन्त ऋतुमा नयाँ पालुवा पलाउने गर्दछन्। वसन्त ऋतुलाई सबैभन्दा महत्वपूर्ण ऋतु भनिएको छ। श्रीभद्भगवद्गीतामा श्रीकृष्णले ऋतुहरुमध्ये ‘म वसन्त हुँ’ भनेका छन्।
श्रीपञ्चमीलाई श्रीदेवी, भूदेवी र वाकदेवीको संगम मानिन्छ। त्यसैले यस दिन कुनै नयाँ काम र अक्षरारम्भ सुरु गर्ने प्रचलन छ। यस दिनलाई अत्यन्त शुभ मानिने हुनाले विवाह, व्रतवन्ध लगायतका शुभ कार्य गर्न साइत हेर्न नपर्ने विश्वास गरिन्छ।



