काठमाडौँ- बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनामा मन्त्री प्रकाश ज्वाला मुख्य जिम्मेवार रहेको भन्दै पुत्ला दहन गरिएको छ।
बुधबार त्रिचन्द्र क्याम्पस अगाडि एमाले निकट अनेरास्ववियूले मन्त्री ज्वालाको पुत्ला दहन गरेको हो।
पुस १३ गते कोरियाली भाषा परीक्षा (ईपीएस)मा सहभागी हुन पाउनुपर्ने भन्दै युवाले गरेको प्रदर्शनमा प्रहरीले गोली प्रहार गर्दा दुई जना युवाको मृत्यु भएको थियो।
युवामाथि गोली प्रहार गर्नु अघि उनीहरूले मन्त्री ज्वालाको गाडी जलाएको प्रहरीको भनाइ छ। मन्त्री ज्वाला प्रदर्शन भइरहेको स्थानतर्फ गएकाले उक्त घटना भएको भन्दै उनलाई बर्खास्त गर्नुपर्ने अनेरास्ववियूको माग छ।
घटनाका सम्बन्धमा छानबिन गर्न बनेको समितिले पनि मन्त्री ज्वालाको कमजोरी भएको उल्लेख गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ।















