काठमाडौँ- सरकार र मिटरब्याज पीडितबीच गृह मन्त्रालयमा शुक्रबार भएको वार्ता निष्कर्षविहीन बनेको छ।
मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुख नारायणप्रसाद भट्टराई नेतृत्वको सरकारी टोली र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाह नेतृत्वको टोलीबीच वार्ता भएको हो।
वार्तामा आफूहरुको मागबारे बुँदागत रुपमा छलफल भएको संघर्ष समितिका प्रवक्ता नीर्घ नवीनले बताए। पीडितको समस्या समाधानका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने, अहिले भएको कानुनमा देखिएका जटिलतालगायतका विषयमा कुराकानी भएको थियो। २ घण्टासम्म कुराकानी भएपनि दुवै पक्षबीच कुनै सहमति भने जुटेको छैन।
शनिबार पुन वार्तामा बसिने संघर्ष समितिका प्रवक्ता नीर्घ नवीनले जानकारी दिए।
मन्त्रालयले आइतबार मिटरब्याज पीडितसँग पहिलो चरणको वार्ता गरेको थियो। भोलिपल्ट ११ बजे बस्ने गरी टोली उठे पनि प्रशासनले पीडितलाई भृकुटीमण्डपबाट हटाउन खोजेपछि वार्ता बिथोलिएको थियो।
मंगलबार पुनः वार्ताका लागि टोली बसे पनि विनानिष्कर्ष टुंगिएको थियो।
योबीचमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत आन्दोलनरत् मिटरब्याज पीडितबारे चासो राखेका थिए।
देशभरका ७ सय पीडित पैदल मार्च गर्दै काठमाडौँ आएको पीडितको दाबी छ।


