याङ्गुन- म्यान्मारको कारागारमा झडप हुँदा ४ जनाको मृत्यु भएको छ।
उत्तरी म्यानमारको कचिन राज्यको एक कारागारमा बिहीबार भएको झडपमा परी ४ कैदीको मृत्यु हुनुका साथै अन्य ८ जना घाइते भएका छन्।
म्यान्माको राज्य प्रशासन परिषद्को सूचना शाखाले शुक्रबार विज्ञप्ति जारी गर्दै झडपको खबर सार्वजनिक गरेको हो।
‘कचिन राज्यको मित्किना शहरमा रहेको माइतकिना कारागारमा स्थानीय समयअनुसार बिहीबार अपराह्न ४ः१० बजे केही पुरुष कैदीहरूले म्यान्माको परम्परागत नयाँ वर्षको दिन अप्रिल १७ मा आममाफीको बिषयलाई लिएर विरोध प्रदर्शनपछि दङ्गा भएको हो,’ राज्य प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
कारागारका कर्मचारीहरूले शान्ति सुव्यवस्था कायम गर्ने प्रयास गरेपनि कारागारमा तनाव भएको हो।
कैदीहरूले सुत्ने कोठाको ढोका र सिसीटिभी क्यामेरा टोडफोड गरी फुटाएपछि अपरान्ह ४ः३० बजेतिर सुरक्षाकर्मी र प्रहरीलाई कारागारमा पठाइएको र कारागारका कर्मचारीले कैदीहरूलाई शान्त पार्ने र भीडलाई तितरबितर पार्ने प्रयास गरेका थिए।
यद्यपि, कैदीहरूले कारकारका सुविधाहरूमा क्षति पुर्याउने र कारागारका कर्मचारीहरूमाथि आक्रमण गर्ने प्रयास जारी राखेपछि भएको झडपमा केही व्यक्ति हताहत भएका प्रहरी प्रशासनले बताएको छ।
सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए। साँझ ५ बजेतिर स्थिति नियन्त्रणमा आएको थियो। घाइते कैदीबन्दीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको विज्ञप्तिमा जनाइएको छ।


