आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता बनाएका छन्।
गएराति ११:४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ६ बजेसम्मको नतिजाअनुसार रास्वपाका डा वाग्लेले अग्रता लिएका हुन्। हालसम्म ६ वडाको मतपरिणाम सम्पन्न हुँदा वाग्लेले ५ हजार १९ मत प्राप्त गरेका छन्।
बिहान ६ बजेसम्म आँबुखैरेनी–१, आँबुखैरेनी–२, भानु–१०, भानु–८, भानु–३, भानु–७ को ९ हजार २५७ मतपत्रको गणना सम्पन्न भएको हो।
नेपाली कांग्रेसका गोविन्द भट्टराईले २ हजार ३५१ र नेकपा (एमाले)का सर्वेन्द्र खनालले १ हजार ५४९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए।
आँबुखैरेनी–१ मा १ हजार ४५८ मत खसेकामा रास्वपाका डा वाग्लेले १ हजार ६५, कांग्रेसका भट्टराईले २६५ र एमालेका खनालले ५४ मत प्राप्त गरे।
आँबुखैरेनी–२ मा १ हजार ३९२ मत खसेकामा रास्वपाका डा वाग्लेले ८८१, कांग्रेसका भट्टराईले ३३६ र एमालेका खनालले १०८ मत प्राप्त गरे।
भानु–३ मा १ हजार ५७४ मत खसेकामा रास्वपाका डा वाग्लेले ७१६, कांग्रेसका भट्टराईले ४१८ र एमालेका खनालले ३५१ मत प्राप्त गरे। भानु–७ मा १ हजार २८१ मत खसेकामा रास्वपाका डा वाग्लेले ६५५, कांग्रेसका भट्टराईले ३१२ र एमालेका खनालले २७० मत प्राप्त गरे।
भानु–८ मा १ हजार ७९४ मत खसेकामा रास्वपाका वाग्लेले ८५६, कांग्रेसका भट्टराईले ४५८ र एमालेका खनालले ४३७ मत प्राप्त गरे।
भानु–१० मा १ हजार ७५८ मत खसेकामा रास्वपाका डा वाग्लेले ८४६, कांग्रेसका भट्टराईले ५५१ एमालेका खनालले ३२९ मत प्राप्त गरे।
तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो। जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ।
उता बारा-२ मा गणनाको तयारी थालिएको छ। गए रातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले बिहान बैठककको तयारी भइरहेको छ।
‘सर्वदलीय बैठकका लागि दलका प्रतिनिधि आउन थालेका छन्, बैठकलगत्तै मतगणना सुरु गर्छौँ,’ मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले भने। १० बजेसम्ममा मतगणना सुरु गर्ने तयारी भएको उनको भनाइ छ।
मतगणनाका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ। बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो।
महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाउँपालिकाको ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता छन्। सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
यस्तै चितवन २ मा मतगणना सुरू गर्न बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ। गएराति नै बैठक बस्न खोजिएकोमा कांग्रेसले आफूले गरेको उजुरीमा छानबिन नभएसम्म मतगणना हुन नदिने अडान राखेको छ।
कांग्रेस सभापति राजेश्वर खनालले रास्वपा उम्मेदवार रवि लामिछाने र चितवनका सीडीओविरुद्ध दिएको उजुरीको कारबाही टुंगो नलगाएसम्म मतगणना हुन नदिने बताए। सर्वदलीय बैठक राखेर सहमतिमा पुगी गणना थाल्ने आयोगको तयारी छ।


