काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी रूपान्तरणको योजनालाई सार्थक बनाउन जुनसुकै कठोर निर्णय लिन पनि तयार रहेको बताएका छन्। वैशाख १० मा भएको उपनिर्वाचनमा निर्वाचित सांसद्हरुलाई बधाई दिँदै उनले लामो समयदेखि पार्टी रूपान्तरण, सुदृढीकरण तथा शुद्धीकरणको लागि पार्टीभित्र निरन्तर इमान्दार प्रयत्न गर्दै आएको र रुपान्तरणको योजनालाई सार्थक बनाउन कठोर निर्णय लिन तयार रहेको बताएका हुन्।
लामो समयदेखि पार्टी रूपान्तरण, सुदृढीकरण तथा शुद्धीकरणको लागि पार्टीभित्र निरन्तर इमान्दार प्रयत्न गर्दै आएको भन्दै उनले परिणाम भने आइनसकेको उनको भनाइ छ। ‘नेपाली कांग्रेस रूपान्तरणको ठोस नीति, योजना र कार्यक्रमसहितको स्पष्ट मार्गचित्र लिएर आउनेछौं। र, त्यो रुपान्तरण योजना सार्थक बनाउन जुनसुकै कठोर निर्णय लिन पनि तयार हुनैपर्छ भन्नेमा म प्रष्ट छु,’ थापाको स्टाटसमा उल्लेख छ।
‘पार्टी गतिशील र जनमुखी भइदियोस्’ भन्ने आमचाहना रहेको तर आफू क्रियाशील हुँदाहुँदै पनि अपेक्षित परिणाम आई नसकेको उनको भनाइ छ। आफूलाई थप सार्थक प्रयत्न गरेर परिमाणमुखी भूमिका निर्वाह गर्न जनता र पार्टीका साथीहरुले दिएको सुझावलाई आफूले गम्भीरतापूर्वक आत्मसात गरेको उनले उल्लेख गरेका छन्।
‘आम जनता र पार्टीका साथीहरुको गुनासो, सुझाव र खवरदारीले मलाई सदाझैँ ठूलो उर्जा, प्रेरणा र आत्मबल दिएको छ। आम अपेक्षा अनुरुप परिणाममुखी भूमिका निर्वाह गर्न कहीँ कतै म स्वयं पनि खरो उत्रन सकिनँ कि भनेर आत्मसमीक्षा र आत्मनिरीक्षण गरिरहेको छु,’ फेसबुकमा उनले लेखेका छन्।
थापाको स्टाटस विचार
हालै सम्पन्न उपनिर्वाचनमा बारा २ बाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादव, चितवन २ बाट निर्वाचित रास्वपा अध्यक्ष रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेज्यूलाई हार्दिक बधाई तथा शुभकामना ! सम्मुनति र सुशासनका लागि संसदको यो कार्यकाललाई उपलब्धिमूलक बनाउन हाम्रो सहकार्य हुने नै छ।
उपनिर्वाचनको परिणामले विशेष गरी नेपाली कांग्रेसलाई दिएको सन्देश के हो र यो सन्देशलाई पार्टीले कसरी लिनुपर्छ भन्ने लगायतका सन्दर्भमा सार्वजनिक बहस र विश्लेषण भइरहेका छन। पार्टीभित्र र पार्टी बाहिर देश विदेशमा रहनुभएका शुभेच्छुक, समर्थक तथा आम मतदाता समेत विभिन्न माध्यमबाट बहसमा सहभागी हुनु भएको छ। राजनीतिप्रतिको यो चासो र चिन्ताले नेपालको राजनीतिको सुद्धीकरण र नेपाली कांग्रेस रूपान्तरणको अभियानलाई थप मद्दत पुग्छ भन्ने म ठान्दछु।
अहिले नेपाली कांग्रेसको सवै तहमा आवद्ध सम्पूर्ण नेता तथा सदस्य साथीहरूले यो मतादेश र जनताको सन्देशलाई सम्मान र शिरोपर गर्दै हाम्रो पार्टीको सन्दर्भमा समाजका विभिन्न क्षेत्रबाट आएका सुझाव, विचार र विश्लेषणलाई आत्मसात गरेर इमान्दार आत्मसमीक्षा गर्ने घडी हो। पार्टीमा जहाँ समस्या छ त्यसलाई पन्छाएर वा लुकाएर पार्टीमा नवजीवन संभव छैन। त्यसैले, सौम्यता र धैर्यतापूर्वक सवैको कुरा सुनौं, मनन गरौं अनि आफैतिर फर्केर निर्मम समीक्षा गर्दै वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरी हाम्रो पार्टीलाई जन भावनाअनुसार नयाँ जीवन दिने गरी लागौं।
विगत लामो समयदेखि पार्टी रूपान्तरण, सुदृढीकरण तथा शुद्धीकरणको लागि पार्टीभित्र निरन्तर इमान्दार प्रयत्न गर्दै आएको छु। निश्चय नै पार्टी गतिशील र जनमुखी भइदियोस् भन्ने आम चाहना अनुरुप अपेक्षित परिणाम आइ सकेको छैन। प्रयत्न गरे पनि परिणाम नदेखिएको गुनासो गर्दै आगामी दिनमा थप सार्थक प्रयत्न गरेर परिमाणमुखी भूमिका निर्वाह गर्न नेपाली जनता र पार्टीका साथीहरुले दिएको सुझावलाई मैले गम्भीरतापूर्वक आत्मसात गरेको छु। आम जनता र पार्टीका साथीहरुको गुनासो, सुझाव र खवरदारीले मलाई सदा झै ठूलो उर्जा, प्रेरणा र आत्मबल दिएको छ। आम अपेक्षा अनुरुप परिणाममुखी भूमिका निर्वाह गर्न कहीँ कतै म स्वयं पनि खरो उत्रन सकिन की भनेर आत्मसमीक्षा र आत्मनिरीक्षण गरिरहेको छु। यही क्रममा पार्टीका साथीहरु, समर्थक, शुभेच्छुक तथा वौद्धिक समुदायसँग परामर्श र आम नागरिक तहमा संवाद गरी छिट्टै नै एउटा दृढ संकल्पका साथ नेपाली कांग्रेस रूपान्तरणको ठोस नीति, योजना र कार्यक्रम सहितको स्पष्ट मार्गचित्र लिएर आउनेछौं। र, त्यो रुपान्तरण योजना सार्थक वनाउन जुनसुकै कठोर निर्णय लिन पनि तयार हुनैपर्छ भन्नेमा म प्रष्ट छु।
पार्टी रुपान्तरण र सुदृढीकरणको यात्रा प्रारम्भ भइसकेको छ। हामीलाई अलमलिने न छुट छ न त समय नै। यही समर्पित र संगठित प्रयत्नले परिणाम पनि उत्साहजनक बनाउने ठाँउमा हामी छिट्टै नै अवश्य पुग्नेछौं भन्ने मलाई दृढ विश्वास छ। पार्टीलाई रूपान्तरण गरी जनचाहना अनुसार अझै लोकतान्त्रिक,प्रगतिशील, समावेशी र निर्णायक राजनीतिक शक्तिको रुपमा नेपाली कांग्रेसलाई स्थापित गर्नेछौं। र, जननायक बीपी कोइरालाको परिकल्पना अनुरुपको “समुन्नत नेपाल सम्मानित नेपाली” को हाम्रो संकल्प पूरा गर्नेछौं।
जय नेपाल !


