फिल्म ‘पुजार सार्की’ तीन पात्रहरूको लक्ष्य र सपनामा आधारित कथा हो। ब्राह्मण पात्र पुजार, क्रान्तिकारी पात्र मेघराज र कथित ‘अजात’ पात्र मैतबहादुरको संघर्षको साझा बिन्दुबाट फिल्मको कथा प्रारम्भ हुन्छ।
पुजार हरिद्वारबाट शास्त्र पढेर फर्किएको हुन्छ। फर्किएपछि उसको प्रेम दलित पात्र मैयाँसँग टुसाउन थाल्छ। तर त्यो प्रेमलाई विवाहको घुम्टो ओढाउन उसले सकेको हुँदैन।
यता मैतबहादुर कथित तल्लो जातको परिवारमा धर्मपुत्र हुन्छ। मैतबहादुरको प्रेम गौमाया मगरसँग टुसाउँछ। ऊ गौमायासँग विवाह गर्न चाहन्छ। तर मैतबहादुर कथित तल्लो जातको भएको भन्दै गौमायाको बा उनीहरूको प्रेममा अंकुश लगाउन खोज्छ।
मेघराज कम्युनिस्ट पार्टीको कार्यकर्ता हुन्छ। ऊ जातव्यवस्था र छुवाछुतको विरुद्धमा छ। तर राजनीतिक आन्दोलनबाट मात्र यसको निर्मूल गर्न सकिने विश्वासमा अडिग छ। के यी तिनै पात्र लक्ष्यप्राप्तिमा सफल हुन्छन् त?
निर्देशक दिनेश राउतले इमान्दारितापूर्वक कथाको तान बुनेका छन्।
निर्देशकले दर्शकलाई विसं २०४६को सेरोफेरोमा फर्काउन खोज्छन्। उनी पञ्चायतकालको उत्तरार्द्धतिरबाट कास्कीकोट गाउँको विभेदको कथा भन्न सुरु गर्छन्।
फिल्मको पहिलो दृश्यमा एक प्रेमिल जोडी प्रेमालाप गरिरहेका छन्। त्यो जोडी (मैतबहादुर र मैयाँ)ले फिल्मअधविभर प्रायः अँध्यारोमै प्रेमालाप गरिरहेको देखिन्छ। सायद उनीहरूको प्रेम उज्यालोमा अवतरण हुन नपाउने कुरालाई निर्देशकले इँगित गरेको हुनुपर्छ।
जात व्यवस्थाकै कारण प्रेममा आउने तगारो र पात्रहरूले गर्ने संघर्षले दर्शकहरूलाई फिल्म अवधिभर बाँधिरहन्छ।
फिल्मको शीर्षक नै त्यतिबेला जात व्यवस्थाविरुद्ध क्रान्तिकारी कदम चाल्ने वास्तविक पात्र पुजार सार्कीको नामबाट प्रेरित छ। ब्राह्मण समुदायका ती पात्रले दलित महिलासँग विवाह गरेपछि आफ्नो थर ‘सार्की’ राखेका थिए। फिल्मका लेखक विकास सुवेदीले यो घटनासँगै अन्य दृष्टान्तबाट प्रेरित भएर पटकथा बुनेका छन्।
फिल्मका पात्र पुजार विभेदविरुद्ध लड्न शास्त्रलाई साधन मान्छ। ऊ शास्त्रमा विभेद नभएको कुरा औंल्याउँछ। मैतबहादुरलाई ‘शास्त्र पढे मैते नि बाहुन हुन्छ’ भनेर अडान लिन्छ।
यी दृश्य र संवादहरूले दर्शकलाई भगत सर्वजित विश्वकर्माको याद दिलाउन सक्छ। विसं २००३ तिर बनारसमा पढेर आएका भगत सर्वजितले बागलुङमा विभेदविरुद्ध लड्न शास्त्रकै तर्क दिएका थिए। उनले धार्मिक रुपमा नै दलितहरू अछुतो छैनन् भनेर शास्त्रीय रुपमा बहस सुरु गरेका थिए। उनीसँग बहस गर्नका लागि तत्कालीन राणा सरकारले धुरन्धर पण्डित पठाएका थिए। उनले बहसमा पण्डितलाई नै हराएका इतिहास अहिले पनि पढ्न/सुन्न सकिन्छ। संस्थागत रुपमा दलित आन्दोलनको सुरुवात पनि उनैले गरेका थिए।
जात व्यवस्थाकै कारण प्रेममा आउने तगारो र पात्रहरूले गर्ने संघर्षले दर्शकलाई फिल्म अवधिभर बाँधिरहन्छ।
तर क्रान्तिकारी मेघराज भने शास्त्रको सहारालाई भरोसा मान्दैन। ऊ विभेद निमिट्यिान्न पार्न राजनीतिबाट मात्र सम्भव हुने कुरामा जोड दिन्छ। मैतबहादुर, जसलाई न शास्त्रको ज्ञान छ, न राजनीतिको। ऊ आफ्नो प्रेम सफल बनाउन कहिले शास्त्रको किताब पल्टाउन थाल्छ। कहिले क्रान्तिकारीको ढोका ढक्ढक्याउन्।
फिल्ममा लेखक/निर्देशकले समाज नबदलिनु र जात व्यवस्था निर्मूल नहुनुमा राजनीतिलाई दोष दिन्छन्। लेखक आहुतीले एक अन्तर्वार्तामा भनेका छन्, ‘नेपालका राजनीतिक पार्टीले समाज जात व्यवस्थामा आधारित छ भनेर खुट्याउन सकेनन्।’
फिल्ममा पनि पञ्चायतविरुद्ध लडेका प्रजातान्त्रिक र कम्युनिस्ट पार्टीहरूले जात व्यवस्थाको मुद्दालाई स्वार्थ अनुकूल मात्र प्रयोग गरेको देखिन्छ। जब हिजो विभेदविरुद्ध पनि लडिरहेका पार्टी संसदीय राजनीतिमा प्रवेश गर्छन्, उनीहरू यो मुद्दालाई बोक्न छाडिन्छिन्। जब उनीहरू भोटको राजनीति सुरु गर्न थाल्छन्, अनि जात व्यवस्थाले दमनमा पारिएका दलितहरूमाथि थप मिच्याइँ हुन्छ। फिल्ममा गणतन्त्रको सपना देखेर बन्दुक समातेको मेघबहादुर गणतन्त्रपछि पनि विभेद कायमै भएको पाउँछ। नेपालमा गणतन्त्र स्थानापछि पनि डरलाग्दा विभेदका हिंस्रक शृंखलाहरू दोहोरिरहेका छन्। रुकुम हत्याकाण्ड त्यसको आलो उदाहरण हो।
फिल्ममा पञ्चायतकालमा पञ्चहरूको दबदबा र उनीहरूबाट दलितहरूमाथि भएको दमन देखाइएको छ। विभेदविरुद्धको आवाज बोल्न खोज्दा उनीहरूले गर्ने ज्यादती पनि सशक्त ढंगले देखाउन खोजिएको छ। तर विभेदविरुद्धको संघर्षमा गैरदलितको मात्र उपस्थिति देखाउनु भने निर्देशकको कमजोरी हो। पुजार र मेघराजको विभेदविरुद्धको संघर्षमा जुन उपस्थिति देखाइएको छ, मैतबहादुरको त्यो उपस्थिति फिल्ममा देखिन्न। मैतबहादुरको चरित्रलाई रोचक र मीठो ढंगले प्रस्तुत त गरिएको छ। तर ऊ आफ्नो विवाहको लागि बाहेक विभेदविरुद्ध चेतनशील ढंगले संघर्षमा देखिन्न।
दलित पात्र मैयाँ पनि आफूले भोगेको विभेदविरुद्धको संघर्षमा सहभागी भएको महसुस हुन्न। फिल्ममा विद्रोही पात्र मेघराजको चरित्र विकासमा कथाले जति मागेको छ, त्यति नपुगेको भान हुन्छ। उसलाई महसुस गर्ने ठाउँमा पनि दर्शकले महसुस गर्न पाउँदैनन्। प्रहरीको गोलीबाट ढलेकी मेघराजकी आमामाथि छोराको संवेदना देखिन्न। त्यो पीडादयक त्यसलाई एउटा डाइलगमा मात्र सीमित गराइन्छ। जुन न्यायोचित देखिन्न।
फिल्ममा पुजारको कथामा उतारचढाव महसुस गर्न सकिन्छ। कथित तल्लो जातको युवतीसँग प्रेम गरेपनि विवाहका लागि उसलाई परिवार र समाजको डर हुन्छ। तर त्यो डर कसरी विद्रोहमा बदलिन्छ र उसले क्रान्तिकारी कदम चाल्छ। त्यसले कथालाई थप कसिलो बनाउँछ।
मेघराजको भूमिका निर्वाह गरेका पल शाहमा भने अभिनयको अपरिपक्वता प्रशस्त देखिन्छ। उनको क्रान्तिकारी पात्र न हाउभाउमा देखिन्छ, न बोलीमा। डायइलग पढेझैँ लाग्ने आवाजमा पनि प्रष्टता पाइन्न।
यद्यपि, पुजारले शास्त्रको आड लिएर शास्त्रमा विभेद छैन भने पनि शास्त्रभित्र पसेर तर्क दिने चेष्टा चाहिँ गर्दैन। त्यो तर्कको अभाव अन्तिमसम्म पनि दर्शकलाई लागिरहन सक्छ।
निर्देशकले फिल्ममा कुनै घटनाको संकेतलाई बिम्बात्मक रुपमा गरेको प्रयोग सशक्त लाग्छ। जस्तो कि फिल्मको अन्तिम घडीतिर मैयाँले स्याउलाको भारी ल्याउँदा उसले कानको सिउरेको फूल खस्नु र अन्जानबस पाइतालाले कुल्चिनुले एउटा अनिष्ठ घटनाको संकेत गरिरहेको हुन्छ।
मैतबहादुरले दमाह बजाउने दृश्य पनि फिल्ममा रोचक छन्। जब मगर पुजार मैतबहादुर माथि आइलाग्न थाल्छ, मैतबहादु दमाह बजाएर आफूलाई जोगाउन खोज्छ। यो दृश्यमा दमाहको बिम्बलाई सुन्दर ढंगले प्रयोग गरिएको छ।
फिल्ममा मैतबहादुरको भूमिका निर्वाह गरेका प्रदीपले राम्रै मेहेनत गरेका छन्। उनले बोल्ने संवाद र लवज स्वभाविक मात्र लाग्दैनन्, दर्शकलाई फिल्म अवधिभर हसाउने सामथ्र्य राखिरहन्छन्। उनले आँखा, जिब्रो, हातको हाउभाउ वा बसाइको चाललाई मैतबहादुरको चरित्रमा रोचक ढंगले प्रस्तुत गरेका छन्।
पुजारको भूमिका निर्वाह गरेका आर्यन सिग्देलले आफ्नो अभिनयको स्टेरियाटाइपलाई भत्काएका छन्। कथाको ग्राफसँगै पुजारको मनस्थितिमा आएको उतारचढावलाई महसुस गर्न सकिन्छ।
मेघराजको भूमिका निर्वाह गरेका पल शाहमा भने अभिनयको अपरिपक्वता प्रशस्त देखिन्छ। उनको क्रान्तिकारी पात्र न हाउभाउमा देखिन्छ, न बोलीमा। डायइलग पढेझैँ लाग्ने आवाजमा पनि प्रष्टता पाइन्न।
मैयाँ पात्र अञ्जना बराइलीको अभिनय प्रशंसनीय छ। उनले फिल्ममा आफ्नो उपस्थितिलाई मीठो ढंगले प्रस्तुत गरेकी छन्। गौमायाको भूमिका निर्वाह गरेकी परीक्षा लिम्बुले फिल्म क्षेत्रमा आफ्नो सम्भावनालाई अझै फराकिलो बनाएकी छन्। उनको अभिनय सुहाउँदो र स्वभाविक छ। सहायक पात्र सुवास गजुरेलको अभिनय नबिर्सने खालको छ। अन्य सहायक पात्रहरूको अभिनयले पनि फिल्मलाई थप सुन्दर बनाउन सहयोग गरेको छ।
फिल्ममा कस्ट्युम र प्रब्सहरूले त्यतिबेलाको समयलाई झल्काउन मद्दत गर्छन्। त्यतिबेला गाउँमा प्रजातन्त्र पुनस्र्थापनाका लागि जनता र राजनीतिक दलहरूको संघर्ष, गतिविधिबारे जानकारी दिने बलियो स्रोत नै रेडियो नेपाल हो। देशमा सम्भावित घटनाहरूको अनुमान गाउँका मानिसहरूले रेडियो सुनेर लगाइरहेका छन्।
समग्रमा फिल्मले कथासँगै जात व्यवस्थाविरुद्ध विद्रोह बोल्ने चेष्टा गरेको छ। फेरि एकपटक रुकुम हत्याकाण्ड सम्झाएको छ। विभिन्न समयमा भएका दलित मुक्ति आन्दोलनहरूलाई झक्झकाइदिएको छ। मुद्दाबाट भाग्ने राज्यसत्ता र राजनीतिक पार्टीहरूको चरित्र उजागर गरिदिएको छ।
यसर्थ निर्देशक राउत ‘पुजार सार्की’मार्फत् कुशल कथावाचकको रुपमा पुनः एकपटक उभिएका छन्।


