काठमाडौँ- भारतमा भएको लोक सभाको निर्वाचनमा भाजपा नेतृत्वको गठबन्धनले जितेको छ।
इन्डियन डेमोक्रेसी एलायन्स (एनडीए)ले २ सय ९३ सिट जितेको छ।
कांग्रेस नेतृत्वको गठबन्धन (इण्डिया)ले २ सय २४ सिट जितेको छ।
भाजपा एक्लैले बहुमत हासिल गर्न भने असफल भएको छ।
भाजपाले मात्रै जितेको सिट संख्या २४० छ। कांग्रेस एक्लैले ९९ र समाजवादी पार्टी (सपा)ले ३७ सिट जितेका छन्। त्रिणमुल कांग्रेस (टीएमसी)ले २९ सिट जितेको छ।
बहुमतका लागि २७२ सिट जित्नुपर्ने भए पनि कुनै पनि दलले एकल बहुमत हासिल गर्न सकेनन्।
यद्यपि भाजपा सबैभन्दा ठूलो दल बनेकाले उसैको नेतृत्वमा गठबन्धन सरकार बन्ने छ। सरकारको नेतृत्व भने भाजपाका नेता नरेन्द्र मोदीले नै गर्ने छन्।
मोदीले सन् २०१४ देखि २०१९सम्म र २०१९ देखि २०२४सम्म लगातार दुई कार्यकाल सरकारको नेतृत्व गरिसकेका छन्। अब उनी तेस्रो कार्यकालका लागि सरकारको नेतृत्वमा हुनेछन्।
भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने बताएका हुन्। ‘सन् २०२४ मा जनताले नरेन्द्र मोदीलाई आशिर्वाद दिएका छन्। नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ,’ नड्डाले भनेका छन्।
मोदी भारतमा लगातार तीन कार्यकाल प्रधानमन्त्री बन्ने दोस्रो नेता हुन्। यसअघि यस्तो रेकर्ड जवाहर लाल नेहरुको नाममा छ।


