नयाँदिल्ली- भारतमा लोकसभा निर्वाचन सम्पन्न भएपछि भाजपासहितको एनडीए गठबन्धनले नयाँ सरकार बनाउने प्रयास थालेको छ। एनडीएको एक घटक तलेगु देशम पार्टी (टीडीपी)का चन्द्रबाबु नायडूले आफ्नो दललाई कम्तीमा ६ मन्त्रालय दिनुपर्ने शर्त अघि सारेका छन्।
टीडीपी ६ मन्त्रालय मात्र मागेको छैन, आफ्नो दललाई लोकसभाको स्पिकर (सभामुख) पद पनि माग गरेको छ। ५४३ सदस्यीय लोकसभामा टीडीपीले १६ सिटमा जित हासिल गरेको छ।
यस्तै यस्तै नीतीश कुमारको जनता दल युनाइटेड (जेडीयू)ले तीन मन्त्रालयमा दाबी गरेको छ। जेडीयूले १२ सिटमा जित निकालेको छ।
यस्तै लोक जनशक्ति पार्टी चिरागकुमार पासवानले दुई मन्त्रालय दिनुपर्ने माग अघि सारेका छन्। हिन्दुस्तानी अवाम मोर्चा (हम)का नेता जीतनराम माझीले एक मन्त्रालय माग गरेका छन्। उनको दलले एक सिटमा मात्र जित निकालेको छ।
महाराष्ट्रका मुख्यमन्त्रीसमेत रहेका शिवसेनाका एकनाथ शिन्देले दुई मन्त्रालय माग गरेका छन्। उनको दलले ७ सिटमा जित निकालेको छ। दुई सिटमा जित निकालेको आरएलडीका जयन्तले एक मन्त्री पद दिने वाचा यसअघि नै एनडीएले गरिसकेको दाबी गरेका छन्। यस्तै अपना दल (सोनियालाल) की अनुप्रिया पटेलले पनि आफ्ना लागि मन्त्री पद माग गरेकी छन्। उनको दलबाट उनले मात्र जित निकालेकी छन्।
२४० सिटमा जित निकालेको भाजपाले भने सबैलाई चित्त बुझाउनुपर्ने दबाबमा छ। भाजपाले चित्त नबुझाएको अवस्थामा नायडू र नीतिशले कांग्रेससहितको गठबन्धन इन्डियासँग मिलेर सरकार बनाउन सक्ने भय भाजपामा छ। नीतीश र नायडूले साथ छोडेको अवस्थामा भाजपा विपक्षी खेमामा पुग्ने निश्चितप्राय छ।
नयाँ सरकार बनाउने विषयमा प्रधानमन्त्री निवासमा एनडीएका नेताहरूको बैठक बसिरहेको छ। यसअघि नै प्रधानमन्त्री नरेन्द्र मोदीले राजीनामा दिइसकेकाले नयाँ सरकार गठनको बाटो खोलेका छन्।
प्रधानमन्त्रीको राजीनामा पाएसँगै राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ सरकार गठनको आह्वान गर्ने कामलाई अघि बढाउने तयारी गरेकी छन्।
प्रधानमन्त्री निवासको बैठकले आजै सरकार बनाउनका लागि दाबी पेस गर्ने निर्णय गर्न सक्ने बताइएको छ। यसपछि गठबन्धनका सबै दलका नेताहरू राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटका लागि जाने तयारी गरेका छन्।
प्रधानमन्त्री निवासको बैठकमा जेडीयूका नेता तथा विहारका मुख्यमन्त्री नीतीश कुमार, टीडीपी प्रमुख चंद्रबाबू नायडू, आजसू प्रमुख सुदेश महतो, आरएलडीका जयन्त चौधरी, जनसेना पार्टीका प्रमुख पवन कल्याण, महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे, एलजेपी (रामविलास)के नेता चिराग पासवान, अपना दल (सोनेलाल)का नेता अनुप्रिया पटेल र हमका नेता जीतनराम माझी सहभागी छन्।
जुन ७ मा बिहान ११ बजे बस्ने एनडीएको बैठकले प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने छ। यसपछि जुन ८ मा प्रधानमन्त्रीको शपथ कार्यक्रम हुनेछ।
मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने तयारीमा छन्।


