काठमाडौं- सामाजिक सञ्जालमा सक्रिय सिनेमाप्रेमीहरूको समूह ‘मुभी लभर्स ग्रुप’ले बहुप्रतीक्षित चलचित्र ‘हल्कारा’को विशेष प्रदर्शन गर्ने भएको छ। विक्रम सापकोटाद्वारा निर्देशित तथा अन्तर्राष्ट्रिय अवार्डबाट समेत पुरस्कृत ‘हल्कारा’ यही वैशाख २४ गते आइतबार साँझ ५ बजे प्रदर्शन गरिने ग्रुपले जानकारी दिएको छ।
कोभिडका कारण प्रदर्शन मिति पछि सरेको ‘हल्कारा’ वैशाख २९ गते देशभर प्रदर्शन हुँदै छ। ट्रेलर र टिजरबाट राम्रो प्रतिक्रिया पाएको ‘हल्कारा’मा महेश त्रिपाठी, विनीता थापा मगर, प्रकाश दाहाललगायतको अभिनय छ। चिन्तनराज भण्डारीको छायांकनले प्रशंसा बटुलेको छ।
चलचित्रबाट ‘वर्ल्डफेस्ट ह्युस्टन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा महेश त्रिपाठीले सर्वोत्कृष्ट अभिनेता र चिन्तनराज भण्डारीले सर्वोत्कृष्ट छायांकारको अवार्ड जितेका थिए। फिल्मले ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा सर्वोत्कृष्ट न्यारेटिभको अवार्ड जितेको थियो।
‘हल्कारा’ एउटा हुलाकीको कथा हो। द्वन्द्वकालीन समयको कथा बोकेको चलचित्र प्रदर्शनपछि निर्माण टिमसँग छलफल पनि गरिने ‘मुभी लभर्स’ले जानकारी दिएको छ।
यही प्रदर्शनदेखि ‘मुभी लभर्स’ले सुन्धाराको सीडीसी सिनेमालाई केन्द्र बनाउने पनि बताएको छ। ‘मुभी लभर्स’का प्रदर्शनी, कार्यक्रम र कार्यशालाहरू त्यहीँ हुनेछन्। यसमा सीडीसी हलले सघाउनेछ। चलचित्रको टिकट अनलाइनबाट लिन सकिनेछ।
फिल्मका निर्माता रामकृष्ण पोख्रेल र विक्रम सापकोटा हुन्। फिल्मको लेखन र निर्देशन विक्रम सापकोटाले गरेका हुन्। फिल्ममा महेश त्रिपाठी, विनिता थापा मगर, उमेश तामाङ, पशुपती राइ आदि कलाकारहरु छन्। फिल्म वैसाख २९ गते देशैभरका सिनेमा हलहरुमा प्रदर्शन हुँदैछ।


