काठमाडौँ- पद्मश्री पुरस्कारका लागि १५ पुस्तक छनौट भएको छन्। खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले शनिबार विज्ञप्ति जारी गर्दै पुरस्कारका लागि छानिएका १५ पुस्तकको ‘लङ लिस्ट’ (विस्तारित सूची) सार्वजनिक गरेको हो।
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानले प्रतिष्ठानमा प्राप्त भएका २०८० सालमा प्रकाशित १८६ पुस्तकमध्ये १५ पुस्तकको सूची पुरस्कार चयन समितिले सिफारिस गरेको जानकारी दिएका हुन्।
‘समितिले अर्को महिना पाँच वटा पुस्तकको उत्कृष्ट संक्षिप्त सूची चयन गर्नेछ,’ लामिछानेको हस्ताक्षरमा प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस प्रतिष्ठानले वि. सं. २०६३ सालदेखि मोफसलमा प्रकाशित उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्न थालेको हो। वि. सं. २०६६ सालबाट नेपाली भाषामा देश-विदेशबाट प्रकाशित कृतिलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ।
२०६३ को पद्मश्री पुरस्कार गणेश रसिकले पाएका थिए। ‘दसगजामा उभिएर’ कृतिका लागि उनलाई उक्त पुरस्कार प्रदान गरिएको थियो।
प्रतिष्ठानले हरेक वर्ष देश र समाजका लागि उल्लेखनीय काम गरेका व्यक्तिलाई पद्मश्री गौरव र कलाको क्षेत्रमा लामो समयदेखि उल्लेखनीय काम गरेका व्यक्तिलाई पद्मश्री साधना पुरस्कार पनि प्रदान गर्दै आएको छ। तीनै पुरस्कारको राशी तीन-तीन लाख रुपैयाँ छ।
पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन पद्मश्री पुरस्कार प्रदान गर्ने गरिएको छ।
यी हुन् विस्तारित सूची (लङ लिस्ट) मा परेका कृति (पुस्तकको वर्णानुक्रम अनुसार)
१.अडिएका पाइला- उपन्यास, विष्णु सापकोटा
२.अद्वैत- उपन्यास, कृष्ण गौतम
३.अर्को देशमा-कथा संग्रह, सानु शर्मा
४.गल्ली संसार-निबन्ध संग्रह, रोशन शेरचन
५.गोधूलि गीत- उपन्यास, भानु बोखिम
६.गोपीचा- उपन्यास, विश्व कुइकेल
७.जोगियाना- संस्मरण, कुमार नगरकोटी
८.बहादुर शाह- उपन्यास, चिरन्जीवी वाग्ले
९.बागी स्त्रीको आत्मकथा- कविता संग्रह, सुमिना
१०.बादलडाँडा- नियात्रा, राजेन्द्रमान डंगोल
११.बोरा- उपन्यास, अखण्ड भण्डारी
१२.भृकुटी- उपन्यास, गोविन्दप्रसाद कुसुम
१३.लन्डन अनप्लग्ड- संस्मरण, गोपी सापकोटा
१४.संस्कृति चिन्तन – निबन्ध संग्रह, अरुण गुप्तो
१५.साखेजुङको उकालो- जीवानाख्यान, भुवनहरि सिग्देल


