२०८३ कार्तिक १२ गते बुधबार

रंगकर्मीबीचको दुरी घटाउने ‘म्याड-फेस्ट’

 |  समर्पण श्री
Sanket

समर्पण श्री

काठमाडौँ, असार २२
madfest (8)

काठमाडौँ- मण्डला नाटकघर अनामनगरबाट थापागाउँमा सरेपछि पुरानै भवनमा हुर्किएका रंगकर्मी त्यतिबिघ्न घुलमिल हुन सकिरहेका थिएनन्।

उनीहरूले भवन सरेसँगै आफ्नो नाटकघरसँग दुरी बढेको महसुस गरे।

मण्डलाको चौथो ब्याचका प्रशिक्षार्थीसमेत रहेका रंगकर्मी अनुप न्यौपानेलाई लागिरहेको थियो, ‘यो त हाम्रो ‘स्पेस’जस्तै छैन।’ जबकि पुरानो भवनमा रहँदाको मण्डला सानो हुँदा पनि विराट लाग्थ्यो अनुपलाई।

शुक्रबारबाट मण्डलामा सुरु भएको तीन दिने ‘म्याड-फेस्ट’ अनुपहरूले गरेको त्यही अनुभूतिको उपज भइदियो। अनुपले खोजेका थिए, मण्डला बिरानो लाग्नुको कारण।

‘कहीँ पुरानै स्मृतिमा अल्झिएर पो हा कि!’ मन्थन गरे।

१७औँ ब्याचका नवोदित रंगकर्मी जन्माइसकेको मण्डलाभित्र पछिल्ला समय नयाँ र अपरिचित अनुहार बढ्दै थिए। ती मण्डला परिसरमा भित्रबाहिर बरोबर गरिरहेका हुन्थे। ती अनुहार पनि त मण्डलाकै प्रोडक्ट थिए।

‘एउटै स्कुलमा हुर्किएका पुराना र नयाँ साथीहरूबीचको दुरीले पनि मण्डला बिरानो लागेको रहेछ,’ अनुप सम्झन्छन्, ‘त्यसकारण हामीले त्यो दुरी मेटाउने योजना बुन्यौँ।’

नाटकको दृश्य।

त्यही योजनाले ‘म्याड फेस्ट’सम्म आइपुग्दा उनीहरूलाई एक ठाउँमा उभ्याइसकेको थियो। सुरुमा अनुपहरूले मण्डलाका विद्यार्थीहरूलाई भेटघाटको लागि आह्वान गरे।

गत वर्षको पुस ७ गते मण्डलाको आँगनमा डेढ सयभन्दा बढी रंगकर्मी भेला भएका थिए। सबैका अनुहार नवीन आशा र उत्साहले चम्किएका थिए।

‘यत्रो जनशक्तिलाई एकै ठाउँमा जोडिरहने माध्यम के होला?’

‘फेस्टिभल,’ उपयुक्त उपाय जुर्‍यो। फेस्टिभल निर्देशकको जिम्मेवारी अनुपले आफ्नै काँधमा लिए।

‘फेस्टिभल नजिकिँदै गरेको समय नयाँ र पुराना अनुहारलाई हामीले एकसाथ भेटेका थियौँ। ती अनुहारहरूलाई तपाईंले ‘म्याड फेस्ट’भरि ‘रेल्वे टु नो ह्वेर’, ‘शिल्पिनी’, ‘नुग्धा’, ‘अगम’, ‘अंकुरण’ र ‘मिरर’मा नियाल्न सक्नुहुन्छ,’ अनुप सुनाउँछन्, ‘अहिलेसम्म आइपुग्दा हिजो बिरानो लाग्नेहरू आज आत्मीय बनेका छन्।’

दुरी घटाउने उत्सव
१०औँ ब्याचकी विद्यार्थी नीति शाह अधिकारीमा आफू नाटकघरबाट टाढिएको अनुभूति थियो। उनी ‘कमब्याक’को उपाय खोजिरहेकी थिइन्।

उपाय खोजी गरिरहेको क्षण ‘म्याड फेस्ट’ नीतिको लागि अवसर बनेर आयो। अनि लेखिन् नाटक ‘अगम’, र बनिन् निर्देशक स्वयम्।

उनको नाटकले मातृत्वको कथा भन्छ। ‘एउटी महिलाले मातृत्व अनुभूत गर्न नपाउँदा ऊ कस्तो मनोदशाबाट गुज्रन्छे? परिवार र समाजले कस्तो दबाब दिन्छ? आमा हुन उसले कस्तो प्रयत्न गर्छे?’ नीति नाटकको मर्म सुनाउँछिन्।

योहाङ लामा ‘नुग्धा’का पात्र हुन्। १३औँ ब्याचका लामाले यतिबेला धेरैलाई चिन्ने मौका पाएका छन्।

‘त्यो मौका कोर्स गरिन्जेल कहिल्यै पाइएन। अहिले मण्डलासँग भिज्ने कसरी भनेर सोच्दासोच्दै यो उत्सवमा सहभागी हुन पाइयो,’ उनी भन्छन्।

आफ्नो टिमले स्क्रिप्ट लेखेर आवेदन दिँदा छनोट भएको क्षण लामा खुसी भए। ‘फेरि मण्डलासँग जोडिन पाइयो,’ उनी भन्छन्, ‘र मण्डला पनि अहिले मण्डलाजस्तो भएको छ।’

नाटक ‘नुग्धा’ एउटा कलाकारको जीवनसंघर्षसँग जोडिएको बताउँछन् उनी।

सागर कार्की फेस्टिभलमा ‘अंकुरण’को कथा भनिरहेका छन्। आठौँ ब्याचका उनी यतिबेला नाटकघरले सिकाइरहेको कुरा नाटकघरमै प्रदर्शन गरिरहेका छन्। उनका दृष्टिमा ‘अंकुरण’ आशाहरूको जागरण हो।

‘एउटी महिलाको सपना समाजले खोस्न खोज्छ, समाजविरुद्ध आशाका लागि उसले गर्ने संघर्ष हो,’ आफूहरूले मञ्चन गरिरहेको नाटकबारे उनी भन्छन्।

‘शिल्पिनी’ लेखक श्रीया सिंहले फेस्टिभलमा ‘मिटु मुभमेन्ट’लाई कथामा प्राथमिकता दिएकी छन्। उनले नाटकको कोर्स गर्दा, कक्षामा २१ पुरुषमध्ये ४ महिला थिए। महिलाको सहभागिता उनी नाटकमा बढेको देख्न चाहिन्थन्, चाहिन्छन्। त्यसकारण उनको नाटकमा ३ महिला र १ पुरुष छन्।

उनलाई यो फेस्टिभल सम्बन्धहरू गाँस्ने र आफ्नो कथा अभिव्यक्त गर्ने बलियो माध्यम लागेको छ।

‘रेल्वे टु नो ह्वेर’का लेखक/निर्देशक संयोग गुरागाईं १२ वर्षदेखि रंगमञ्चमा सक्रिय छन्। काठमाडौं आउँदा पहिलो पटक नाटकघर पसेपछि रंगमञ्चले संयोगलाई तान्यो। उनले पनि रंगमञ्चलाई पछ्याए। पछ्याउँदा थुप्रै नाटकका पात्र बने, लेखन र निर्देशन गरे। ‘यसपटकको नाटकचाहिँ प्रयोगात्मक छ। अर्धअसंगत ढाँचामा लेखेको छु,’ उनी भन्छन्।

१२ वर्षअघि नाटकघर प्रवेश गर्दा र अहिलेको समयमा भिन्नता पाएका छन् संयोगले। ‘त्यतिबेला सर्कल सानो थियो, अहिले ठूलो छ,’ उनको अनुभव छ।

जे होस्, नयाँ साथीहरूसँग सहकार्य गर्न पाउँदाको मीठो अनुभूति पनि उनले सँगालिरहेका छन्। त्यो अनुभूति सँगाल्न ‘म्याड फेस्ट’ले थप सहयोग गरिरहेको छ।

अहिलेको पुस्ताले कसरी सोच्छ? त्यो सोचसँग जोडिन पाइरहेका छन्।

उत्सवको क्षण
नयाँ रंगकर्मीलाई अवसर र पुरानोहरूलाई उत्तरदायित्व बोध गराइरहेकोे ‘म्याड फेस्ट’को भारी कतिको गह्रौँ छ? फेस्टिभल निर्देशक अनुप सुनाउँछन्, ‘सय केजी कपासको तौलजति।’ उनकै भाषामा भन्दा सुक्खा भइन्जेलसम्म त्यसको वजनले थिच्दैन।

अघिल्ला वर्षहरूमा किनाराबाट मात्र देखेको फेस्टिभललाई यसपटक काँधमै लिँदा दबाब महसुस गर्नु स्वभाविकै हो। यद्यपि त्यसको रोमाञ्चकता उतिकै अनुभव गरिरहेका छन् अनुपले।

यो अनुभवका लागि उनी मण्डलासँग आभारी छन्। जसले युवा रंगकर्मीको काँधमा जिम्मेवारी थमाइदिएर फेस्टिभलको अभिवावकत्व लिइरहेको छ।

पुरानो ठाउँको नोस्टाल्जिया र नयाँ भवनको बिरानोपनले तर्किरहेका अनुपले फेस्टिभलसम्म आइपुग्दा पुनः नयाँ अनुभूति गरिसकेका छन्।

‘आखिरमा मण्डला त जमिन रहेछ। जहाँ खनजोत गर्ने काम हाम्रै रहेछ,’ उनको पछिल्लो निष्कर्ष छ।

प्रकाशित: २०८१ असार २२ गते शनिवार ०३:०५
प्रतिक्रिया

थप समाचार

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...

१५ वर्षपछि दशैँ गीतमा सुरेश अधिकारीको ‘कमब्याक’, चल्ला पुरानै जादु?

दशैँका अवसरमा वर्षौँदेखि गुञ्जिँदै आएका ‘चरीररि रै...’ र ‘हो दशैँ आयो’ जस्ता लोकप्रिय गीतका सर्जक अधिकारीले लामो समयपछि नयाँ दशैँ गीतमा संगीत दिएका हुन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना