काठमाडौँ- एनसेलका ग्राहकले अब इन्टरनेट चलाउन डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्ने भएका छन्।
एनसेलले फेसबुकको मातृ कम्पनी मेटासँगको सहकार्यमा मंगलबारबाट लागू हुने गरी दुई प्रोडक्ट फेसबुक बेसिक मोड र डिस्कभर संचालनमा ल्याएको हो।
योसँगै अब एनसेलका ग्राहकले ब्यालेन्स बिना पनि इन्टरनेट र फेसबुक चलाउन सक्ने भएका हुन्।
डिस्कभरले टेक्स्ट मात्र हेर्न सकिने गरी इन्टरनेट ब्राउजिङको सुविधा दिन्छ। त्यसैगरी डेटा प्याक र डेटा चलाउन ब्यालेन्स नभएको अवस्थामा ग्राहकहरुले फेसबुक बेसिक मोडमा टेक्स्ट र फोटोसहित फेसबुक चलाउन सक्ने सुविधा छ।
‘यो साझेदारीले नेपालमा इन्टरनेटको प्रयोग बढाउन योगदान पुर्याउँछ र हाम्रो सधैं अन क्याम्पेनको एक अंशको रूपमा यसले ग्राहकहरुका मोबाइलहरूमा केही आधारभूत सेवाहरू उपलब्ध रहि रहने कुराको सुनिश्चित गर्नेमा हामी विश्वास गर्छौं। यस किसिमका सहकार्यहरूले डिजिटल समावेशी नेपालको लक्ष्य हासिल गर्न महत्वपूर्ण कदम चाल्नेछ,’ एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिन भने।
डिस्कभर एक एन्ड्रोइड एप हो। एनसेलका ग्राहकहरूले यो एप प्रयोग गरेर एनसेलमार्फत टेक्स्ट मात्र पहुँच हुने गरी इन्टरनेट चलाउन सक्छन्। यसको प्रयोगमार्फत कुनै पनि वेबसाइट ब्राउज गर्न सकिन्छ। टेक्स्टमात्र सपोर्ट गर्ने हुनाले यसमा भिडियो, अडियो, र अन्य प्रकारको धेरै डेटा खपत हुने सामाग्री उपलब्ध हुँदैन।
यसैगरी स्वास्थ्य एवं सुरक्षासम्बन्धी विश्वासिलो जानकारीहरुमा सहज पहुँचका लागि डिस्कभरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विश्व स्वास्थ्य संगठनको वेबसाइटहरु बुकमार्क गरिएको छ।
फेसबुक बेसिक मोडमा, एनसेलका ग्राहकहरूले डेटा प्याक सकिएमा वा डेटा प्रयोग गर्नको लागि ब्यालेन्स नभएको बेलामा पनि टेक्स्ट र फोटोहरूसहितको फेसबुक चलाउन सक्छन्। यसको मतलब ग्राहकहरुले आफ्नो स्टाटस्, पोस्टहरु राख्ने, फोटोहरु हेर्ने र राख्ने जस्ता कामहरु गर्न सक्छन्। ग्राहकहरूले डेटा खरिद गरेपछि उनीहरु स्वतः शुल्क लाग्ने फुल फेसबुक मोडमा फर्किन्छन्।


