बैङ्कक- थाइल्यान्डका प्रधानमन्त्री श्रेथा थाभिसिनले मङ्गलबार मध्य बैङ्ककको एक लक्जरी होटलको कोठामा छ जना विदेशी नागरिक मृत पाइएको बताएका छन्। प्रहरीले उनीहरूलाई विष खुवाइएको आशङ्का गरेको छ।
“सङ्घर्षको कुनै सङ्केत थिएन”, प्रधानमन्त्री श्रेथाले पथुम वान जिल्लाको ग्रान्ड हयात इरावन होटलमा पत्रकार सम्मेलनमा भने, “उनीहरूले केही खाएका थिए कि भन्नेबारे हामीले शव परीक्षण गर्न आवश्यक छ।” उनले उनीहरूको मृत्यु चोरीसँग सम्बन्धित थियो र गोलीबारी भएको थियो भन्ने हल्लालाई खारेज गरेका छन्।
प्रधानमन्त्रीका अनुसार मृतक छ जना भियतनामी थिए। तीमध्ये दुई जनासँग दोहोरो अमेरिकी राष्ट्रियता थियो।
सफाई कर्मचारी पाँचौँ तलामा कोठा बनाउन आइपुग्दा शव प्राप्त भएको र प्रहरीलेसाँझ साढे चार बजे सूचना पाएको थियो। केही समयपछि प्रधानमन्त्री श्रेथा घटनास्थलमा पुगेका थिए। उनले उक्त घटनामा सातौँ भियतनामी संलग्न रहेको आशङ्का गरेका छन्।
बैङ्ककको मेट्रोपोलिटन प्रहरी ब्युरो प्रमुख थिति साङसावाङले अतिथिहरू दिउँसो होटलबाट चेकआउट गर्न असफल भएको बताए। “कर्मचारीहरूले शव फेला पारे र उनीहले होटलका अधिकारीहरूलाई र त्यसपछि पुनः प्रहरीलाई सूचित गरे”, उनले भने।
उनका अनुसार प्रारम्भिक अनुसन्धानमा लडाइँ वा चोरीसँग सम्बन्धित चोटको कुनै सङ्केत पाइएको छैन। उनले सबैले विषाक्त पदार्थ सेवन गरेको हुनसक्ने अनुमान गरे। “हामीलाई उद्देश्य पत्ता लगाउन आवश्यक छ”, उनले भने, “उनीहरूले आत्महत्या गरेको नभई अन्यको हत्याबाट मरेको प्रमाणित गर्नुछ।”
