२०८३ कार्तिक १२ गते बुधबार

बाँचिरहेका भए ७१ वर्षका हुन्थे अरुण थापा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ५
arun_thapa

बाँचिरहेका भए ७१ वर्षका हुन्थे अरुण थापा। तर, उनी हामीमाझ छैनन्। ठीक २५ वर्षअघि बागबजारस्थित कान्तिपुर गेस्ट हाउसको एउटा कोठामा थापाले अन्तिम सास फेरे। गेस्ट हाउसको त्यो कोठामा उनको शवसँगै एउटा गितार र १३ रुपैयाँ मात्र भेटिएको थियो।

उनलाई पोखराको माटोले गायन क्षेत्रमा चर्चाको शिखरमा मात्र चढाएन, यही पोखराको माटोले नै उनलाई कहिल्यै नभुल्ने चोटहरु पनि दियो। पहिलो प्रेमको दुःखद अवसान भए पछि उनले कयौं कालजयी गीतहरु गाए। उनको बाँकी जीवन व्यवहारिक रुपमा असफल नै रह्यो। करोडबाट रोडपतिको यात्रा शुरु भयो र उनी लागु पदार्थको नशाको संसारमा नराम्रोसँग फसे, निस्कनै नसक्ने गरी! यही नशाले उनलाई जेलको चिसो छिँडीदेखि मृत्युको मुखसम्म पनि पुर्‍यायो। अन्ततः २०५६ सालको श्रावण ५ गते काठमाडौँ बागबजारको कान्तिपुर गेस्ट हाउसको एउटा कोठामा अस्ताए।

हेपटाइटिस बी, कलेजोको संक्रमण र पेटको अल्सर जस्ता अनेक रोगहरुको उपचारको अभावमा एउटा इतिहासको दुःखद अन्त्य भयो। भन्नेहरु भन्छन् पैसा पाएपछि अरुण थापालाई औषधिभन्दा नशाकै बढी खोजी हुन्थ्यो।

पोखराले दिएको चोट
अरुण थापा उच्च शिक्षा अध्ययन गर्न पोखराको पृथ्वीनारायण क्याम्पस भर्ना भएका थिए। संगीतसँगको उनको नाता पुरानै थियो, झन् स्वर त प्रकृतिले अरुणलाई गायक बन्नैका लागि सुम्पेको थियो। क्याम्पसका सानो ठूलो जमघटमा उनी आफ्नो स्वरको जादु चलाइ हाल्थे।

यसै क्रममा पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको वार्षिक स्वागत कार्यक्रमको स्टेजबाट उनले मोहम्मद रफीको गीत ‘मेरा जीवन कोरा कागज गाएर’ सबैलाई मोहित पारे। क्याम्पसमा अध्ययनरत एक छात्राले उनको स्वरको मोहनीले बाँधिएर प्रेम प्रस्ताव नै राखिन्। अरुणको प्रेम यात्रा शुरु भयो उनै विमला पलिखेसँग, जो राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिवकी बहिनी थिइन्।

यो जोडी परिवारसँगको सहमति बेगर नै २०३४ सालमा काठमाडौंको गुह्वेश्वरी मन्दिरमा विवाह बन्धनमा बाँधियो। जुन विवाहको चाँजोपाँजो मिलाइदिएका थिए, थापाका मितज्य” तथा अर्का चर्चित गायक ओमविक्रम विष्टले। विष्टलगायतका थापाका केही साथी विवाहका साक्षी भए।

विवाहअघि नै उनी गायकका रुपमा उदाइसकेका थिए। सानोठूलो गायन प्रतियोगितादेखि रेडियो नेपालसम्मको गायन प्रतियोगितामा उनी पुरस्कृत भइसकेका थिए। अरुण थापाको बारेमा आधिकारिक तथ्यांकहरु त्यति धेरै नपाइए पनि २०३४ को आसपासमै उनले आफ्नो सर्वाधिक चर्चित गीत ‘ऋतुहरुमा तिमी …’ गाएको मगर विद्यार्थी संघका पूर्वअध्यक्ष माधव कुमार दर्लामी बताउँछन्।

आफ्नी प्रेमिकाको सम्मानमा यस्तो गीत गाउने थापाको प्रेममा विवाहसँगै दरार आउन थाल्यो। खानदानी परिवारकी सुपुत्रीसँगको प्रेम नै थापाका लागि अफापसिद्ध भयो। सुटुक्क विवाह गरेर विमलाको परिवारसँग भाग्दै र लुक्दै यो जोडीले केही समय त बितायो तर यसरी सधैं टिक्नेवाला थिएन।

केही दिनका लागि छोरीलाई माइतीघर पठाइदिन भनेर परिवारले अनुनयविनय गरेपछि विमला पोखरा जान तयार भइन्। तर पोखरा पुगेपछि विमलाको परिवारले विमलाको विवाह अर्कै मानिससँग गराइदियो। भावुक हृदयका अरुणलाई यो घटना मुटु हजारौं टुक्रा बनाउन काफी थियो। मुटु रेटेर त्यसपछि उनले २०३६ सालमा गाए –

जति माया लाए पनि, जति कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा, आँखा तरी गए पछि
मनमा पिर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो

पीडादायी दशक
अरुण थापाको जिन्दगीमा २०३४ सालबाट शुरु भएको यो पीडाको शृंखला त्यत्तिकैमा सकिँदैन। वियोगको यो घडीले विक्षिप्त बनेका थापा नशाको संसारमा रमाउन थाले। मुटुको भित्री पत्रबाट निस्केका उनका गीतहरुले एकपछि अर्काे गर्दै बजार पिट्न थालिसकेको थियो। उनका प्रशंसकहरु बढिरहेका थिए।

यस्तैमा उनको पीडाहरुमा सहकार्य गर्ने वाचा कसम खाएर थापाको जीवनमा आइन् ललितपुरकी मुना केसी। यो प्रेमलाई परिवारको असहमतिका बीच पनि थापाले विवाहको रुप दिए।

मुनासँगको सहयात्रा पनि थापाको जीवनमा राम्रो जम्न सकेन। थापा त अघिल्लो प्रेमको असफलता पछि अर्कै धातुमा परिणत भइसकेका रहेछन्। नशाको संसारबाट उनलाई बाहिर निकाल्ने मुनाको प्रयासले पनि सफलता पाउन सकेन। गायनमा त थापाले सफलताको शिखरमा पुग्न थालेका थिए तर व्यवहारिक जिन्दगीमा उनी निरन्तर असफलत सावित हुँदै गए।

नशाको संसारमा सम्पत्तिको विनाश भइरहँदा पनि उनले गायनलाई कहिल्यै पनि व्यावसायिक बनाउन सकेनन्। फलतः नेपाल बैंकका वरिष्ठ अधिकृत उनका पिता गञ्जु थापाले झम्सिखेलमा जोडिदिएको घर, जग्गा, गाडी सबै स्वाहा भयो। एक समय त्यत्रो सम्पत्तिको मालिक थापा परिवारले डेराको जिन्दगी सुरु गर्‍यो।

२०३७ सालमा बाबुको देहान्त भयो। त्यसको दुई वर्ष पछि २०३९ मा माता शान्ति थापाले पनि संसारबाट बिदा दिइन्। अरुणको अव्यावहारिक जिन्दगीका कारण दाम्पत्य जीवनमा दरार आउन थाल्यो। अन्ततः २०४४ सालमा मुनाले पनि अरुणलाई छाडेर गइन्। माइतीघरको जिन्दगी केही समय बिताएपछि मुनाले पनि अर्काे विवाह गरिन्।

अरुणको जिन्दगीमा अब छेकबार गर्ने कोही भएन। लागुपदार्थ प्रयोगको दुर्व्यसनीको अभियोगमा २०४५ सालमा त उनी पक्राउ पनि परे। र एक वर्ष भन्दा बढी जेल जीवन पनि बिताए। तर उनले यो कुलतलाई छाड्नै सकेनन्।

सायद संगीत र नशा उनका लागि पर्यायवाची भइसकेको थियो, जसलाई छाड्नुभन्दा उनी घरबार त्याग्न तयार भए। जीवनको अन्तिम कालखण्ड चरम आर्थिक संकट र एकान्तवासमा बिताउँदै अन्ततः सबैलाई छाडेर गए।

यी दिनहरुमा अरुणलाई मित्रहरु अमृत गुरुङ, ईश्वर गुरुङ र बहिनी मीना थापाको सहयोग मिलेको थियो। तर पनि उनलाई अल्पायुको मृत्युबाट कसैले रोक्न सकेन।

प्रकाशित: २०८१ साउन ५ गते शनिवार ०८:०६
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना