अमेरिकी राष्ट्रपति जो बाइडनले नोभेम्बरमा हुने राष्ट्रपति चुनाव नलड्ने घोषणा गरेका छन्। उनले उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन्। अब बाइडेनको स्थानमा डेमोक्रेटिक पार्टीबाट ह्यारिस राष्ट्रपतिका लागि चुनाव लड्न सक्ने सम्भावना बढी छ।
यो खबर बाहिरिएसँगै भारतमा उनका हजुरबा-हजुरआमाको गाउँमा उत्सवको माहौल छ। कमला ह्यारिसका हजुरबा-हजुरआमा भारतको दक्षिणी सहर चेन्नईभन्दा ३०० र अमेरिकाको राजधानी वासिंटन डिसीबाट १४ हजार किलोमिटर टाढा सानो गाउँ थुलासेन्द्रापुरम् गाउँमा बस्छन्।
कमला ह्यारिस डेमोक्रेटिक पार्टीकी आधिकारिक उम्मेदवार हुने सम्भावना बढ्दा भारतमा उनका हजुरबा-हजुरआमाको गाउँमा अमेरिकी चुनावलाई लिएर चासो बढेको छ।
एसोसिएटेड प्रेसको सर्वेक्षण अनुसार डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीको आधिकारिक उम्मेदवार बन्न ह्यारिसलाई धेरै डेमोक्रेट डेलिगेट्सहरुले समर्थन गरेका छन्।
५९ वर्षीया ह्यारिसको तस्बिरसँगै एउटा ठूलो ब्यानर सोमबार थुलासेन्द्रापुरम्’को बीचमा लगाइएको छ।
गाउँको मन्दिरमा विशेष पूजाअर्चना पनि भइरहेको छ। मिठाइ पनि बाँड्ने काम भएको बीबीसी तमिललाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ।
बैंक म्यानेजरको पदबाट निवृत्त भएका कृष्णामूर्तिले भनेका छन्- विश्वको सबैभन्दा शक्तिशाली देशको राष्ट्रपतिको उम्मेदवार बन्ने कुरा मजाक होइन। कमला ह्यारिसमाथि हामी गर्व गर्छौं। पहिले भारतमाथि विदेशीले राज गर्थे। अब शक्तिशाली देशको नेतृत्व भारतीय मूलका सन्ततिहरूले गरिररहेका छन्।’
कमला ह्यारिस सन् २०२० मा उपराष्ट्रपति बन्दा थुलासेन्द्रापुरममा आतीशबाजी गरिएको थियो। पोस्टर टाँसिएको थियो। सामुदायिक भोजको आयोजना पनि गरिएको थियो। नातेदारहरुका अनुसार ह्यारिसले सांबर-इडली खुब मन पराउँछिन्।
कमला ह्यारिस भारतीय परम्परासँग जोडिएकी छन्। द हिन्दूमा छापिएको समचारअनुसार कमलाीकी आमाको मृत्यु हुँदा हिन्दू रीतिरिवाजअनुसार अस्तु बगाउन कमला बहिनीका साथमा चेन्नई आएकी थिइन्।
कमलाले पहिलो महिला, पहिलो ब्ल्याक र दक्षिण एसियाली मूलकी उपराष्ट्रपति बनेर उनले इतिहास रचेकी थिइन्। तामिललाडुकी स्तन क्यान्सरसम्बन्धी विषयमा अनुसन्धान गर्ने पेसा बनाएकी श्यामला गोपालन छोरी कमला सन् १९५८ मा अमेरिका गएकी थिइन्। कमलाका पिता डोनाल्ड ह्यारिस जमैकाका नागरिक थिए।
सन् २०२३ मा ह्यारिसले ट्विट गर्दै भनेकी थिइन्- १९ वर्षको उमेरमा मेरी आमा श्यामला एक्लै अमेरिका आएकी थिइन्। उनी एक वैज्ञानिक र नागरिक अधिकारकर्मी थिइन्। उनले दुई जना छोरीलाई गर्वको भाव भरिन्।’
कमलाका मामली मामा गोपालन बालान्द्रन विद्वान थिए। उनका हजुरबा पीवी गोपालन भारतका सरकारी कर्मचारी थिए। गोपालनले सन् १९६० मा उनले जाम्बियाका पहिलो राष्ट्रपतिको सल्लाहकारका रुपमा कामसमेत गरेका थिए।
ह्यारिस उपराष्ट्रपति बन्नुअघि क्यालिफोर्नियामा न्यायाधिवक्ता थिइन्। उनले अमेरिकी माथिल्लो सदन सिनेटमा सदस्य (सांसद)का रुपमा समेत काम गरेकी थिइन्।



