म्यान्मारको दक्षिणी शान राज्यको गुम्बामा झडपमा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ। झडपमा परी तीन जना भिक्षुको पनि मृत्यु भएको म्यान्मा नाउले जानकारी दिएको छ।
स्थानीय विद्रोही समूह र म्यानमारी सैनिकले एकअर्कामाथि आक्रमण गरी नरसंहार गरेको आरोप लगाएका छन्। म्यानमार नाउका अनुसार सैनिकले नरसंहार गरी मानिसहरुको ज्यान लिएको हो। यो शनिबारको घटना हो।
आइतबार अनलाइनमा पोस्ट गरिएको तस्बिरमा गाउँको गुम्बाको प्रवेशद्वार नजिकै रगतले लतपतिएका थुप्रै शवहरू देखिएका छन्, जसमा तीन जना बौद्ध भिक्षुका पनि छन्।
गुम्बाको अगाडिको भाग पनि गोलीका प्वालहरूले भरिएको देखिन्छ। ढिलोगरी सञ्चारमाध्यममा आएको यो सूचनाले सम्पूर्ण विश्व समुदायलाई स्तब्ध बनाएको छ।
यसै महिनाको सुरुमा सागाइङ क्षेत्रको मिन्मु टाउनशिपमा जुन्टा सेनाले १७ जना गाउँलेको हत्या गरेको केही दिनपछि शनिबार नानेइन्ट गाउँमा पछिल्लो घटना भएको त्यहाँका विद्रोही स्रोतले जनाएको छ।
म्यान्मा नाउले स्वतन्त्र रूपमा पुष्टि गरेको ‘क्यारेनी नेसनलिटीज डिफेन्स फोर्स (केएनडीएफ)’ ले सार्वजनिक गरेको तस्बिरमा मृतकको टाउको र शरीरका अन्य भागमा गोली लागेको स्पष्ट देखिन्छ। गुम्बाका भित्ताहरूमा तल भुइँमा रगतले लतपतिएका शवहरू पङ्क्तिबद्ध भएर लडेको देखिन्छ।
केएनडीएफका प्रवक्ताका अनुसार अहिलेसम्म २२ जनाको शव निकालिएको छ भने अन्य सात जना अझै घटनास्थलमै रहेको अनुमान गरिएको छ। ‘गुम्बाको पछाडि थप सात वटा शव छन्, जुन हामीले अहिलेसम्म सङ्कलन गर्न सकेका छैनौँ,’ सुरक्षाको कारण देखाउँदै नाम नबताउने सर्तमा प्रवक्ताले भने।
म्यान्मामा सन् २०२१ मा सैन्य नेता मिन आङ ह्लाइङले सत्ता कब्जा गरेपछि राजनीतिक हिंसामा फसेको छ। जसले पाँच करोड ५० लाख जनसङ्ख्या भएको दक्षिणपूर्वी एशियाली मुलुकको प्रजातान्त्रिक शासन व्यवस्थाप्रतिको आन्दोलन थप पछि धकेलिएको छ।


