काठमाडौँ- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको निधन भएको छ। उनको आज बिहान ६ बजे आफ्नै जन्मथलो सिरहाको लक्षम्पुर पतारी गाउँपालिका–२ पोखरभिण्डामा निधन भएको हो।
शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ नाम लिइने कामत पछिल्ला ४० वर्षदेखि निरन्तर काठमाडौँमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए। कामतको २०१२ साउन १७ गते सिरहाको पोखरभिण्डामा जन्म भएको थियो।
६९ वर्षका उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। काठमाडौँ बस्दै आएका उनी आर्थिक समस्याका कारण एक महिनाअघि मात्र गाउँ फर्किएका थिए।
शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो। उपचारका लागि आर्थिक संकटको सामना गर्नुपरेपछि उनी सपरिवार गाउँ फर्किएका थिए।
गुरुलाई आर्थिक अभाव परेपछि रोग लिएरै गाउँ फर्किनुपरेपछि कवि मुकुन्द पौडेल दु:खी थिए। ‘शास्त्रीय संगीतमा उच्च नाम बनाएका एउटा सर्जक यसरी घर फर्किनु ज्यादै दु:खद् छ,’ गुरु गाउँ फर्किएपछि उनले भनेका थिए।
कामतका दुवै मिर्गौलाले काम गर्न छाडेपछि डायलाइसिस गराइरहेका थिए। गायक युवराज चौलागाईं २०६० सालताका गुरुदेवकहाँ पुगेका थिए। त्यहाँ औपचारिक रूपमा शिक्षा नलिए पनि उनले प्रेरणाको स्रोतका रूपमा उनलाई लिने गरेका छन्।


