नयाँ दिल्ली- भारतको हिमाचल प्रदेशमा छोटो अवधिको अत्यधिक वर्षापछि आएको बाढीका कारण शिमला, मन्डी र कुल्लु जिल्लामा ५० जनाभन्दा बढी बेपत्ता भएका छन्।
हिमाचलका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्कुले उद्धार र राहत कार्य जारी रहेको बिहीवार बताएका छन्।
शिमलाको रामपुर तहसील, मन्डी जिल्लाको पधार तहसील र कुल्लुको जाओ, निर्मल गाउँमा वर्षाले निम्त्याएको विपद्पछि राष्ट्रिय विपद् व्यवस्थापन बल (एसडीआरएफ), राज्यस्तरीय विपद् व्यवस्थापन बल (एसडीआरएफ) प्रहरी, अग्नि नियन्त्रण सेवालगायतका टोलीहरू राहत तथा उद्धार कार्यमा संलग्न छन्।
राहत र उद्धार कार्यका लागि स्थानीय प्रशासनलाई निर्देशन दिई निगरानी गरिरहेको र सम्भावित थप सहयोग गर्न प्रतिबद्ध रहेको मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत जारी एक सन्देशमा उल्लेख गरेका छन्।
यसैगरी हिमाचल प्रदेशका राजस्वमन्त्री जगतसिंह नेगीले शिमलाको सामेज क्षेत्रमा ३६ जना र मन्डी जिल्लाको टिक्केन क्षेत्रमा आठ जना बेपत्ता भएको र दुई जनाको शव फेला परेको जनाएका छन्।
समाचार तयार पार्दासम्म शिमला जिल्लाको सामेज क्षेत्रमा ३६ जना, मन्डीको टिक्केन क्षेत्रमा आठजना बेपत्ता भएको जानकारी प्राप्त भएको छ। कुल्लु क्षेत्रमा मलानाको विद्युत परियोजनाको ब्यारेज क्षतिग्रस्त हुँदा मानिसहरू पनि फसेको र सडक सञ्जाल अवरुद्ध भएको छ।
हिमाचल प्रदेशमा भएको आकस्मिक र भारी वर्षाले पुगेको क्षति र जनजीवन प्रभावित भएपछि सङ्घीय स्वास्थ्यमन्त्री जगतप्रकाश नड्डाले केन्द्र सरकारबाट सहयोगको आश्वासन दिएका छन्। उनले हिमाचल विधानसभाका पूर्व मुख्यमन्त्री तथा विपक्षी दलका नेता जयराम ठाकुर र भारतीय जनता पार्टी (भाजपा)का प्रदेश अध्यक्षसँग पनि कुरा गरी सबै भाजपाका कार्यकर्तालाई राहत कार्यमा संलग्न हुन निर्देशन दिएका छन्।
यसैबीच, मन्डी जिल्ला प्रशासनले घटनाबारे सचेत गराउँदै बासिन्दालाई ब्यास नदीको छेउछाउमा नजान चेतावनी जारी गरेको छ।
उता भारतको केरलाको वायनाडमा आएको बाढी र भूस्खलनमा मृत्यु हुनेको संख्या १७८ पुगेको छ।
केरलाको मुख्यमन्त्रीको कार्यालयले अहिलेसम्म १७८ जनाको मृत्यु भएको जसमा २६ बालबालिकासहित ८१ पुरुष र ७१ महिला रहेका छन्। त्यस्तै घटनामा बेपत्ता हुनेको संख्या ९८ पुगेको बताइएको छ।
प्राकृतिक विपदबाट ठूलो संख्यामा मानिसले ज्यान गुमाएपछि राज्यमा दुई दिनको शोकको घोषणा गरिएको छ।
अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
हाल ८८ राहत शिविर बनाएर करिब ९ हजारलाई ति शिविरमा राखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
केरलाको प्रकोप व्यवस्थापन विभागले मानिसहरूलाई पहिरोको सम्भावना भएका ठाउँहरूबाट टाढा रहन आग्रह गरेको छ।


