मस्को(रुस)- रुसी राष्ट्रपतिको निवास रहेको क्रेमलिन दरवारमा हालै भएका दुई ड्रोन हमलामा अमेरिका जिम्मेवार रहेको रुसले आरोप लगाएको छ। ड्रोन हमलामा युक्रेन पनि हात रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले जिकिर गरेका छन्।
‘हामीसँग यसको प्रमाण छ। त्यो सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त गरेको छ,’ पेस्कोभले उल्लेख गरेका छन, ‘अमेरिकाले यो बुझ्नुपर्छ कि रुस आतङ्कवादी हमलामा आफ्नो सहभागिता बारे सचेत छ।’ द्वन्द्वमा प्रत्यक्ष सहभागी हुँदा कति खतरा हुन्छ भनेर अमेरिकाले बुझ्नुपर्ने रुसको चेतावनी छ।
रुसी राष्ट्रपतिको प्रेस सेवाले बुधबार युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिन निवासमा आक्रमण गर्न दुईवटा ड्रोन प्रयोग गरेर हत्या गर्ने प्रयास गरेको दाबी गरेको छ।
यसैबीच अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बिहीबार रुसको दाबी गलत भएको बताएका छन्। उनले स्थानीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै क्रेमलिन आक्रमणमा संयुक्त राज्य अमेरिकाको कुनै संलग्नता नभएको बताएका छन्।


