काठमाडौँ- बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार साँझ सि–१३० हरकुलस सैन्य यातायात विमानबाट नयाँदिल्ली नजिकैको हिन्डन एयरबेसमा उत्रिएकी छिन्।
विमानलाई भारतीय वायु सेनाको सि–१७ र सि–१३० जे सुपर हरकुलस विमान ह्याङ्गर नजिकै पार्क गरिने स्रोतहरूले बताएका छन्।
भारतीय वायुसेना र सुरक्षा एजेन्सीहरूले भारतीय हवाई क्षेत्रमा प्रवेशदेखि लिएर गाजियाबादमा हिन्डन एयरबेससम्म विमानको आवागमनको निगरानी गरेका थिए।
यद्यपि हसिना दिल्लीमा बस्छिन् वा अन्यत्र जान्छिन् भन्ने स्पष्ट छैन। बङ्गलादेशका मिडिया आउटलेटहरूले उनी लन्डन जान सक्ने अनुमान गरेका छन्।
स्रोतहरूका अनुसार बङ्गलादेशी सि–१३० विमान भारतीय हवाई क्षेत्रमा प्रवेश गरेलगत्तै भारतीय वायुसेनाको लडाकू विमान उडेको थियो र केही समयसम्म उक्त विमानको निगरानी गरेको थियो। भारतीय वायुसेना र भारतीय सेना कुनै पनि आकस्मिक अवस्थाको सामना गर्न तयार रहेको स्रोतले बताएको छ।


