नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पोल्याण्ड र युक्रेनको दुई देशको भ्रमणपछि स्वदेश फिर्ता भएका छन्। भारतीय प्रधानमन्त्री ४५ वर्षपछि पोल्यान्ड पुगेका हुन्।
युक्रेन भ्रमण गर्ने मोदी पहिलो बहालवाला भारतीय प्रधानमन्त्री हुन्।
युक्रेन भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको बडापत्रलगायत क्षेत्रीय अखण्डता र राष्ट्रको सार्वभौमिकताजस्ता अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तहरू लागु गर्न आफू तयार रहेको बताएका थिए।
यस सम्बन्धमा घनिष्ठ द्विपक्षीय वार्ता गर्न पनि दुवै पक्ष सहमत भएका थिए।
भारतीय पक्षले आफ्नो सैद्धान्तिक अडान दोहोर्याउँदै वार्ता र कूटनीतिको माध्यमबाट शान्तिपूर्ण समाधानमा ध्यान केन्द्रित गरेको छ।
भारतले युक्रेनमा शान्तिका लागि जून २०२४ मा स्विट्जरल्याण्डको बर्गेनस्टकमा आयोजित शिखर सम्मेलनमा भाग लिएको थियो।
युक्रेनी पक्षले भारतको यस्तो सहभागिताको स्वागत गर्दै आगामी शान्ति शिखर सम्मेलनमा भारतको उच्चस्तरीय सहभागिताको महत्वमाथि प्रकाश पारेको छ।
भ्रमणका क्रममा भारत र युक्रेनले चार वटा सम्झौतामा हस्ताक्षर गरेका छन्।
पोल्याण्डमा रहँदा मोदीले समकक्षी डोनाल्ड टस्कसँग छलफल गरेका थिए। दुई देशले ‘रणनीतिक साझेदारी’मा रुपान्तरण गर्ने निर्णय गरेका छन्। दुवै नेताले युक्रेनमा जारी युद्ध र यसको भयानक र दुःखद मानवीय परिणामप्रति गहिरो चिन्ता व्यक्त गरेका थिए।
उनीहरूले सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मानसहित संयुक्त राष्ट्रसङ्घको बडापत्रका उद्देश्य र सिद्धान्तअनुरूप अन्तर्राष्ट्रिय कानूनबमोजिम व्यापक, न्यायोचित र दिगो शान्तिको आवश्यकतालाई दोहोर्याएका छन्।
रुसको कुर्स्क क्षेत्रमा किएभले अचानक आक्रमण गरेको दुई साता नबित्दै रूस र युक्रेनले शनिबार २३० जना युद्धबन्दीको आदानप्रदान गरेको घोषणा गरेका छन्। आदानप्रदानमा दुबैतर्फका बराबर युद्धबन्दी रिहा भएका मध्यस्थकर्ता संयुक्त अरब इमिरेट्स (युएई)ले जानकारी गराएको छ।
कुर्स्कमा युक्रेनले आफ्नो आक्रमण बढाउँदै गर्दा र रूसले पूर्वी युक्रेनी शहरलक्षित आक्रमणको तयारी गरिरहेको समाचार आइरहेका समय यो आदानप्रदान भएको हो। युक्रेनी स्वतन्त्रता दिवसमा पनि यस्तो आदानप्रदान भएको थियो।
दुवै देशले कैदी अदलाबदली सम्झौतामा मध्यस्थता गरेको युएईप्रति आभार प्रकट गरेका छन्।
‘हाम्रा अन्य ११५ देशभक्त सुरक्षाकर्मी आज घर फर्किसकेका छन्,’ युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको झन्डा बेरेर बसेका मानिसहरूको फोटोसहित जारी गरेको सन्देशमा भनेका छन्, ‘यी सैनिकहरू नेशनल गार्ड, आम्र्ड फोर्सेज, नेभी, स्टेट बोर्डर गार्ड सर्भिसका सैनिक हुन्।’
किएभले गत अगष्ट ६ मा भएको कुर्स्क आक्रमणमा सयौं रूसी सैनिकलाई बन्धक बनाएको यसअघि बताएको थियो। मस्कोले उक्त आदानप्रदानको पुष्टि गर्दै कुस्कमा बन्दी बनाइएका ११५ सैनिकलाई फिर्ता गरिएको जनाएको छ।
रूसी रक्षा मन्त्रालयले भनेको छ, ‘वार्ता प्रक्रियाको परिणामस्वरुप कुर्स्क क्षेत्रमा बन्दी बनाइएका ११५ जना रूसी सैनिकलाई किएभ शासनको नियन्त्रणमा रहेको इलाकाबाट फिर्ता गरिएको छ। ती सैनिकहरू अहिले छिमेकी बेलारूसमा रहेका छन्, उनीहरूलाई ‘मनोवैज्ञानिक–चिकित्सा सहायता’ प्राप्त भइरहेको छ र चाँडै नै उनीहरूलाई स्वदेश ल्याइनेछ।’
युएईले रूसी र युक्रेनबीच बन्दी आदानप्रदानमा सफलतापूर्वक मध्यस्थता गरेको जनाएको छ।
किएभ र मस्कोबीच दुई वर्षभन्दा लामो युद्ध जारी रहेपनि युद्धका क्रममा विपक्षीको नियन्त्रणमा गएका कैदीहरूको पटक पटक आदानप्रदान पनि हुँदै आएको छ।


