काठमाडौँ- इन्द्रजात्राको सुरुवातसँगै काठमाडौं महानगरपालिका-१८ किलागलमा नाचिने पौराणिक नाच दी प्याखं (देवी नाच) सुरु भएको छ। कायअष्टमीका दिन ‘पिदने’ नामक पूजा गरेर मुकुट, मुकुण्डो, घुँघुरा र पोशाकसहितको नृत्य सुरु भएको हो।
श्रावण शुल्क चौथीका दिन पहिलो पूजा गरेर नृत्य प्रशिक्षण सुरु हुन्छ। भाद्र शुक्ल चतुर्थीका दिन दोस्रो पूजा गरिन्छ। यसलाई ‘घँगलासि’ भनिन्छ। यसमा पात्र दैवी शक्ति प्राप्त होस् भनेर प्रार्थना गरिन्छ।
यो नृत्य इन्द्रध्वज उत्थान गर्नुअगाडि बसन्तपुरको कागेश्वरी महादेव मन्दिर अगाडिको डबलीमा देखाइन्छ। यसपछि इन्द्रध्वज ठड्याएपछि इन्द्रजात्रा औपचारिक रुपमा सुरु भएको मानिन्छ।
इन्द्रजात्रा (क्वनेयाः)का दिन जैसीदेवल अगाडिको डबलीमा नाच देखाइन्छ। कुमारीको रथ ल्याएपछि रोकेर कुमारीलाई पनि नाच देखाउने चलन छ।
यसैगरी येँया पूर्णिमाका दिन बाङ्गेमुढा र इन्द्रचोकको डबलीमा पनि देखाउनुपर्छ। जात्राको अन्तिम दिन (नानिचायाः)मा किलागल डबलीमा अन्तिम पटक प्रदर्शन गरिन्छ। त्यसपछि एक वर्ष यो नाच देखाइँदैन।
यो नाचमा भैरव, कुमारी, चण्डी, दैत्य, कवं (कङ्काल), बेताः (बेताल) र ख्याः (ख्याक) लगायतका पात्र हुन्छन्। नाचले असत्यमाथि सत्यको जित हुने सन्देश दिन्छ।
अन्य परम्परागत नाचहरुमा दैत्यको वध गरेको देखाइन्छ। यस नाचमा पराजित दैत्य भागेको देखाइन्छ। अन्य नाचमा बली चढाइन्छ भने यस नाचमा बली चढाउने चलन छैन। यसर्थ यसलाई शान्तनाचको रूपमा लिइने गरिएको नाचमा भैरवको भूमिका निर्वाह गर्ने बद्रि डंगोलले बताए।
इन्द्रजात्राका अवसरमा नचाइने विभिन्न नाचहरुमध्ये यो एउटा विधा हो। पुलुकिसी, आकाश भैरव, लाखेजस्ता नाच कुमारीको रथ अगाडि-पछाडि नचाइन्छ भने यो देवीनाच विभिन्न डबलीमा मात्र नचाइन्छ।
विभिन्न मुद्रा र आसनमा नचाइने यो नाच, शान्ति होस्, रोगव्याधी नहोस्, विनाशकारी र प्रलयकारी घटना नहोस् भन्ने कामनासहित प्रस्तुत गरिन्छ।


