चोक्टे नारायण जात्राका नामले समेत चिनिने यस पर्वमा ब्रह्मा, विष्णु र महेश्वरका प्रतीक रहेका तीनवटा खट निकालेर विभिन्न टोल परिक्रमा गराइन्छ।
माथिल्लो ठटाल टोलबाट ब्रह्माको, बीचको न्याल्म टोलबाट विष्णु (नारायण)को र तल्लो कोटालटोलबाट महेश्वरको खट निकाल्ने परम्परा छ। तीनवटै खटको दर्शन तथा पूजाआराधना गर्न स्थानीय बासिन्दासहित भक्तजनको सहभागिता रहने गरेको छ।
यस जात्रामा खट सजाउन मैनबाट बनाइएका फूल प्रयोग गरिनु अर्को विशेषता हो। खट घुमाउने क्रममा झर्ने फूल टिप्नसमेत मानिसहरू उत्साहित हुन्छन्।
प्रचलित किंवदन्तीअनुसार एउटी महिला गर्भवती भए पनि १२ वर्षसम्म सुत्केरी हुन नसकेपछि नारायणको आराधना गर्न पुगेकी थिइन्। नारायणलाई प्रसन्न पार्न अन्यत्र नभएको जात्रा देखाउने वाचा गरेपछि उनको मनोकामना पूरा भएको र त्यसैको सम्झनामा जात्रा सुरु भएको विश्वास गरिन्छ।










