काठमाडौं- विभिन्न अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको फिल्म ‘डाकिनी’ नेपाली हलमा प्रदर्शन हुने भएको छ। बौद्ध धर्मग्रन्थका देवीको खोजीको कथा समेटिएको फिल्म ‘डाकिनी’ आगामी जेठ ५ गते नेपालमा देभरका हलहरुमा प्रदर्शन हुने भएको छ। ‘टलकजंग भर्सेस टुल्के’, ‘जात्रा’ र ‘महापुरुष’ निर्माण कम्पनी षट्कोण आर्टसले फिल्मलाई नेपालमा प्रदर्शन गर्न लागेको हो।
अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ नाम दिइएको यो फिल्मको नेपाली नाम डाकिनी हो। बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी ‘डाकिनीका प्रशस्तै मिथक र दन्त्यकथा छन्। यो फिल्म पनि यस्तै देवीको खोजीको कथा हो, जसले बौद्ध ग्रन्थको यो सुन्दर आयामलाई बाहिर ल्याउँछ।
षट्कोण आर्ट्सका नेपाली निर्माताहरू रविन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्रीले फिल्मलाई सीमित नेपाली मल्टिप्लेक्स हलमा रिलिज गर्न लागेका हुन्। रिलिजकै दिनमा पहिलो शोसहित फिल्मको ग्राण्ड प्रिमियर आयोजना हुँदैछ, जसको आकर्षण बन्नेछन् यस फिल्मका निर्देशक समेत रहेका खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)। उनी बौद्ध धर्मका ठूला गुरु समेत हुन्। गुरु रिम्पोछेको यो पाँचौं फिल्म समेत हो।
रिलिजको जेठ ४ गते रिम्पोछे अमेरिकादेखि नेपाल आउँदैछन्। फिल्मलाई जेठ ६ गते शनिबार मूभी लभर्स ग्रुपले विशेष प्रदर्शन गर्दैछ। निर्देशक रिम्पोछेले पर्यटन बोर्डमा ‘ब्यूटी इज अ ट्रयाप’ ९सुन्दरता एउटा जाल हो० विषयमा मास्टरक्लास पनि सञ्चालन गर्दैछन्। आइतबार बौद्धस्थित लिच्छवी हाउसमा ‘बुद्ध र भिखारी’ नाटक समेत मञ्चन हुनेछ।
फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन्। भारतमा जन्मिएका यी दुवै तिब्बती मूलका हुन्। फिल्ममा कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियाँलगायत कलाकारको समेत अभिनय छ।
फिल्मको सबै छायांकन पाटन र काभ्रेको पनौतीमा भएको थियो। यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ।
निर्देशक रिम्पोछेको यो पाँचौं फिल्म हो। बौद्ध धर्मबारेका उनका प्रवचन जति चर्चित छन्, फिल्म निर्देशकका रूपमा पनि उति नै। सन् १९९९ मा उनले निर्देशन गरेको पहिलो फिल्म ‘द कप’ कान्स फिल्म फेस्टिभलमा देखाइएको थियो । दोस्रो फिल्म ‘ट्राभल्स एण्ड म्याजिसियन्स’ पनि निकै चर्चित रह्यो। सन् २०१७ मा उनले बनाएको ‘हिमा हिमा स् सिंग मी अ सङ ह्वाइल आई वेट’ लोकार्नो र टोरन्टो फिल्म फेस्टिभलमा प्रदर्शन गरियो। २००७ मा प्रकाशित उनको पुस्तक ‘ह्वाट मेक्स यु नट अ बुद्धिस्ट’ विश्वभर निकै पढिएको पुस्तक मानिन्छ । त्यसपछि पनि उनले तीन पुस्तक प्रकाशन गरे।
काठमाडौंमा क्याफे चलाएर बसिरहेका तिब्बती मूलका युवालाई एक दिन सपनामा केही संकेत मिल्छ। एक दिन उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ(तिमी अब जम्मा सात दिन बाँच्छौं। तर जब उसले यो संकट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ जुँगा र दाह्रा भएकी डाकिनीको खोजी। उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर फिल्मको कथा बगेको छ।
तिब्बती मूलका यी भुटानी रिम्पोछेको नेपाल नाता पनि उत्तिकै पुरानो छ। उनले बौद्धको एक गुम्बामा पढेका हुन्। रिम्पोछेले बनाएको पहिलो फिल्म ‘द कप’ भारतीय तिब्बती शरणार्थी शिविरको एक बाल भिक्षुबारे थियो। सन् १९९८ को विश्वकप फुटबलप्रतिको उसको आशक्तिलाई लिएर बनाइएको यो फिल्मलाई समीक्षकले रुचाएका थिए।
बुद्ध धर्मको कारण नजिकिएका निर्माताहरु बानियाँ र खत्रीले गुरुसँगको संगत गर्दा यो फिल्म बनाउने सोचेका थिए। पुनहिल ट्रेकिङ गएको बेला रिम्पोछेले यी दुई निर्मातालाई फिल्मबारे पहिलोपटक सुनाएका थिए। ‘गुरु र मार्कजस्ता फिल्ममेकरसँग आफ्नै निर्माणमा यस्तो फिल्म बनाउन पाउनु मौका हो,’ खत्रीले भने।


