काठमाडौँ- हिमालयन बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्नेसम्बन्धी सम्झौता भएको छ। बुधबार उक्त सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा कोषका विभागीय प्रमुखहरु र हिमालयन बैंक लिमिटेडका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत विजय नकर्मी, सहायक प्रमुख कार्यकारी अधिकृत सतीशराज जोशी तथा निक्षेप विभाग प्रमुख राजेश भट्टराईको उपस्थिति रहेको थियो।
सम्झौतापत्रमा हस्ताक्षर भएसँगै हिमालयन बैंक लिमिटेडले लघुवित्त तथा विपन्न वर्ग कर्जा अन्तर्गत बिना धितो व्यक्तिगत वा सामूहिक जमानीमा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म र धितो जमानीमा प्रतिव्यक्ति २० लाख रुपैयाँसम्म कर्जा लगानी गर्ने छ।
वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवालाई सामूहिक जमानी वा परियोजना धितो अन्तर्गत १० लाख, भूकम्प पीडितको निजी आवास निर्माण कर्जामा प्रतिव्यक्ति ३ लाख, सक्रिय खेल जीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय सञ्चालन गर्न प्रदान गरिने कर्जामा १० लाखसम्म कर्जा प्रदान गरिने बैंकले जनाएको छ।
सशस्त्र द्वन्द्वबाट प्रभावित व्यक्तिको लागि प्रदान गरिने स्वरोजगार कर्जामा प्रतिव्यक्ति/परिवार १० लाख रुपैयाँसम्म र कोषको पूर्व सहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजना अन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने १५ लाखसम्मको कर्जा कोषले सुरक्षण गर्ने जनाइएको छ।
यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक ०.८ प्रतिशत रहेकोमा ५० प्रतिशत नेपाल सरकारले अनुदान वापत व्यहोर्ने र बाँकी ५० प्रतिशत हिमालयन बैंक लिमिटेडले कोषमा बुझाउनेछ।
कोषमा सुरक्षित कर्जा लिने ऋणीको मृत्यु भएमा वा प्राकृतिक प्रकोपबाट परियोजना नष्ट भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असूली हुन नसकेमा बैंकले दाबी गर्न सक्ने र उक्त दाबीमा कोषले ७५ प्रतिशत भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ।


