काठमाडौँ– दर्शकहरूका लागि बहुप्रतिक्षित फिल्म हो दीपक–दीपाको ‘छक्कापञ्जा ५’।
आगामी फूलपातीका दिन आपसमा भिड्न लागेका ‘ज्वाइँसाब’ र ’१२ गाउँ’को ट्रेलर आइसक्दा पनि ‘छक्कापञ्जा–५’ निर्माण टिमको कुनै सुरसार थिएन।
ती दुई फिल्मले यसअघि टिजर पनि रिलिज गरे। तर ‘छक्कापञ्जा’ टिमले टिजर समेत फालेन। धेरैको पर्खाइ फिल्मको त्यसपछि भने ट्रेलरमै थियो।
गत शुक्रबार निर्माण टिमले शनिबार ३ बजे ट्रेलर सार्वजनिक गर्ने जानकारी दियो।
शनिबार ३ त बज्यो, ट्रेलर बजेन। अभिनेता तथा निर्माता दीपकराज गिरीले फेसबुकमार्फत् भने, ‘३ राम्रो कि ६?’
अहिलेसम्म ६ अङ्कबाट सुरु भएको उनीहरूको फिल्मका लागि ट्रेलर फाल्न पनि ६ बजे उपयुक्त हुने सुझाव पाएपछि आफूहरूले समय सारेको बताएका थिए।
‘छक्कापञ्जा’ शृङ्खलाको प्रशंसकहरूलाई ३ घण्टा थप कुर्दा पनि छट्पटी भएको थियो। त्यो छटपटी फेसबुक स्टाटस र कमेन्टहरूमा देखिन्थ्यो।
अन्तत: ६ बज्यो, ट्रेलर पनि बज्यो। तर अघिल्ला फिल्मका ट्रेलरहरूमा झैं दर्शक उत्साहित भएनन्। ट्रेलर हेरेपछि धेरैजसो खिस्स भए। कारण थियो, कमजोर ट्रेलर। दर्शकहरूलाई ट्रेलरले ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेझैं पारिदियो।
ट्रेलर रिलिजपछि ‘छक्कापञ्जा’ टिमले तारिफको साटो गाली बटुलिरहेको छ। दीपकले १ घण्टापछि गालीको अनुभूत भएपछि फेरि फेसबुकमा लेखे, ‘१ घन्टामै १ लाख पटक हेरियो! हाम्रा सामग्रीमा आएर आफ्ना प्रचार तथा गाली गलौज गर्नेहरूलाई पनि धन्यवाद। तर जे गरे पनि हामी हाम्रो कर्म इमानदार भएर गर्नेछौँ।’
हरेक शृङ्खलामा रेकर्ड कायम गर्ने ‘छक्कापञ्जा’को पाँचौँ शृङ्खलाको ट्रेलर एक घण्टामै १ लाख पटक हेरिनु कुनै नौलो कुरा थिएन।
तर ट्रेलर हेरिसकेपछि अधिकांश कमेन्टहरू कस्ता आए भन्ने कुराचाहिँ नौलो थियो। तर सामाजिक सञ्जालमा ट्रेलरलाई लिएर आएका कमेन्टलाई निर्माण टिमभित्रकै मान्छेले स्वीकार गर्नचाहिँ सकिरहेका छैनन्।
कलाकार निर्मल शर्माले फेसबुक पोस्टमा असन्तुष्टि पोखे, ‘रोजाइ आफ्नो आफ्नो हो। तर अरुको पोस्टहरूमा घुसेर गालीगलौज गर्ने विषाक्त मानसिकताहरूको घर परिवार सम्झेर पो दया लाग्यो…!’ फिल्मको बचाउ गर्न उनी व्यक्तिगत तवरबाटै उत्रिए।
धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले फिल्मलाई केदार घिमिरे ‘माग्ने बुढा’को डाइलगले मात्र उठाएको चर्चा गरिरहेका छन्।
कस्तो छ ट्रेलर?
हुन त अघिल्ला शृङ्खलाहरूमा पनि ‘छक्का पञ्जा’ टिमले राम्रो समीक्षा पाउन सकेको छेन। व्यावसायिक हिसाबमा भने नयाँ रेकर्ड कायम गरिरहेको छ। यद्यपि, यसपटक केही गुनासो यस्तो पनि छ, ‘पुरानै शैलीमा कमजोर कन्टेन्ट पस्किएर दर्शकलाई मुर्ख बनाउन खोजियो।’
ट्रेलरअनुसार यसपालि ‘छक्कापञ्जा’लाई आफ्नै साख जोगाउन चुनौती छ। किनकि यसपालि ट्रेलरमा केदार घिमिरेको डाइलग बाहेक अरु कुराले दर्शकलाई आकर्षित गर्दैन।
उसो त घिमिरेकै डाइलग पनि नेपालका हास्य टेलिसिरियलमा जस्तो दर्शक हसाउन जबर्जस्ती घुसाइएको भान हुन्छ। ४ मिनेट लामो ट्रेलरले हेरिसक्दासम्म कुनै कौतुहलता प्रदान गर्दैन।
‘ब्रेकअप’ गीतबाटै गाली
फिल्म रिलिजघी निर्माण टिमले दुई वटा गीत सार्वजनिक गर्यो। दुईमध्ये बिहे भाको छैन’ गीतले हालसम्म ७० लाखभन्दा बढी भ्युज कमाएको छ।
यो डान्सिङ गीतमार्फत् टिमले आफ्ना अघिल्ला फिल्मका गीतहरूको प्रभावलाई कायम राख्न सफल भयो। तर त्यसपछि सार्वजनिक भएको ‘ब्रेकअप सङ’ले भने गालीको वर्षा गरायो।
गीतमा गीत थिएन, तुच्छ शब्दमा प्रेमी प्रेमीले एकअर्कालाई गरेको गाली मात्र थियो। यो गीत टपक्क टिपेर साना नानीहरूले भन्न थालेपछि अभिभावकहरूले सामाजिक सञ्जालमा गुनासो पोखेका थिए। गीतले आलोचना भोग्नुपरेको थियो।
सँगै गीतमा भएका शब्दहरू ‘स्त्रीद्वेषी’ भएको भन्दै आलोचना गरिएको थियो।
चाहे गीत वा ट्रेलर। भ्युजमा रमाइरहेको ‘छक्कापञ्जा’ टिमले आलोचनालाई नजरअन्दाज गरेर उस्तै कमसल र कमजोर कन्टेन्ट पस्किँदै जानुले फिल्मको आगामी भविष्य सुरक्षित गर्ला कि नगर्ला, सन्देह छ। फिल्मलाई अनुमोदन गर्ने कि नगर्ने, दर्शकहरूसँग यो अधिकार सधैं सुरक्षित छ।
डरमै छन् ‘१२ गाउँ’ र ‘ज्वाइँसाब’ पनि
यतिबेला डर ‘छक्कापञ्जा ५’सँग मात्र हैन, सोही दिन भिड्न लागेका ‘ज्वाइँसाब’ र ’१२ गाउँ’सँग पनि छ। लामो समयपछि कमब्याक गरेका विराजसँगै दर्शकहरूको लागि छोरा समीर सरप्राइज्ड थिए।
एक्सन फिल्मको खडेरी लागिरहेको नेपालमा विराजले छोरालाई अघि सारेर त्यो हिम्मत त गरे। तर फिल्मलाई यतिबेला दक्षिण भारतीय फिल्म ‘केजिएफ’सँग तुलना गरिरहेका छन्। झट्ट फिल्मको ट्रलेर हेर्दा कथावस्तु ‘केजिएफ’को नजिक भएको जस्तो भान पनि हुन्छ।
कथावस्तु मात्र हैन, एक्सनलाई पनि बलिउड र दक्षिण भारतीय फिल्मसँग तुलना गरेपछि विराज चिन्तित भए। उनले सञ्चारकर्मीहरूसँग यतिका दु:ख गरेर बनाएको फिल्मलाई ‘केजिएफ’, पठान र सलारसँग तुलना नगरिदिन आग्रह समेत गरे।
‘ज्वाइँसाब’को ट्रलेर हेरेर पनि दर्शकहरू खास उत्साहित देखिन्नन्। ट्रेलर हेरेर लेखिएका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको टिप्पणीलाई केलाउने हो भने ‘ज्वाइँसाब’को कथाले पनि खास जादु गर्ने देखिन्न। बरु ‘छक्कापञ्जा’ टिमबाट निकालिएपछि एक्लै सङ्घर्ष गरिरहेका जितुलाई कतिपयको सहानुभूति छ। सहानुभूतिकै आधारमा ‘ज्वाइँसाब’को पक्ष लिनेहरू छन्।
तीन फिल्मलाई लिएर आ–आफ्नो मत राखिरहेको हेर्दा चुनावको झल्को पनि दिन्छ। कमसेकम अन्य दिनहरुमा कहिल्यै यो तहसम्म नहुने फिल्मको चर्चा यतिबेला भइरहेको छ। यो फिल्म क्षेत्रका लागि सुखद् पक्ष पनि हो।
साथै उतिकै चर्चा गरिएको फिल्म ‘बेहुली फर्म मेघौली’ले भने अहिले हलहरूमा दर्शकको राम्रो साथ पाइरहेको छ। कति संकलन गर्यो भनेर आधिकारिक तथ्याङ्क नआइसके पनि फिल्मको माहोल सुखद् देखिन्छ।
अब आगामी शुक्रबार एकसाथ रिलिज हुने तीन फिल्मले यही माहोल कायम राख्ने हुन् वा हैनन्, त्यसको परिणाम हेर्न रिलिजसम्मै पर्खनुपर्ला।


