काठमाडौं- नाबालिमाथि यौन दुर्व्यवहारको मुद्दामा मदन राई पक्राउ परेका छन्। खोटाङमा आफ्नै फाउन्डेसन स्थापना गरी होस्टल समेत सञ्चालन गर्दै आएका राईले फाउन्डेसनको आश्रयमा रहेका बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार पक्राउ परेका हुन्।
मदन राईले सञ्चालन गर्दै आएको ‘शुभद्रा मदन फाउन्डेसन’बाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारूङले जानकारी दिएका छन्। राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा राखिएको छ।
मदनले फाउन्डेसनमा पढाउन भनेर राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको भिडिओसहितको सामग्री सेतोपाटीले प्रकाशन गरेको थियो। आफूलाई कृषिविज्ञका रूपमा चिनाउँदै आएका ७५ वर्षीय राईले बालबालिकालाई यौन दुर्व्यवहार गर्ने, आफू निर्वस्त्र बनेर देखाउने, किशोरकिशोरीहरूको संवेदनशील अंग चलाउने लगायतका क्रियाकलाप गरी दुर्व्यवहार गर्ने गरेको पीडितले बताएका छन्।
मदनले स्कुलमै पढ्ने एक बालिकालाई शरीर मालिस गर्न लगाउँदै गरेको भिडियो पनि सार्वजनिक भएको छ। विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले पनि राईले आफूहरूमाथि दुर्व्यवहार गरेको भनेर विद्यार्थीहरूले सुनाउने गरेको बयान दिएका छन्।
आफू प्रहरी हिरासतमा रहेको जानकारी राईले पनि फेसबुकबाट दिएका छन्।’म हिरासदमा हुँदा फोन नचल्न सक्छ। केही जान्नपरे सूर्य राईलाई सम्पर्क गरौं। म जहाँ हुन्छु शरीर नाश भएपनि विचार रहनेछ,’ उनको स्टाटसमा लेखिएको छ।


