२०८३ कार्तिक १३ गते बिहिबार

‘ठाडोभाकाको लोकसांस्कृतिक इतिहास’ खोतल्दा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २४
thado_bhaka

काठमाडौँ- लोकगीत जनसमुदायको धड्कन हो, यो कहिल्यै मर्दैन। यो समाजले गाएको हुन्छ, समाजले बचाएको हुन्छ र समाजले नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जान्छ। नेपाल भूगोलमा सानो भए पनि पनि विश्वमा यसको अलग्गै पहिचान बनाउने मुख्य तीन आयाम भूगोल, प्रकृति र संस्कृति नै हो।

कुनै पनि राष्ट्रको संस्कृति भनेको त्यस देशको सम्पत्ति हो। त्यसमा पनि लोकसंस्कृतिले जनताका धड्कनलाई बोक्ने हुँदा लोकसमुदायका आँशुहाँसो, सुखदुःख, मिलनबिछोड, जीवनयापनका अनेक उकालीओराली, लोकपरिवेश, लोकमान्यता र लोकविश्वासको प्रतिनिधित्व गर्छ।

हाम्रा पहिचान बनेका संस्कृति, वेशभूषा, परम्परा र रीतिरिवाजलाई लोकभाकाका माध्यमबाट जीवन्त राख्ने अनेक लोकभाकामध्ये ठाडो भाकाको आफ्नै वैशिष्ट्य छ। लोकसंस्कृतिको मुहान नै मान्ने गरिएको गण्डकी क्षेत्र, त्यसमा पनि लमजुङ जिल्लामा बढी गाइने यस गीतको महिमा मुलुकमा मात्र सीमित नरहेर विश्वका कुनाकुनामा फैलिँदो छ। यसको लय नेपाली गीतसङ्गीतका स्रोता र पारखीका हृदयमा अमिट छाप छाड्न सफल भएको छ।

ठाडो भाकामा सामान्य लोकगीतभन्दा केही फरक शैली र मौलिकपन छ। यसमा गीत गाउने पुरुष उभिएर अर्थात् ठाडै भएर गाउने भएकाले यसलाई ठाडो भाका भनिएको हुनसक्छ। सामान्यतः यसमा महिला नाच्दैनन्, तिनले बसेरै गाउँछन्। ठाडो भाकामा एउटा समूह नेताले पहिला चरणमा अघिल्लो फेद भन्ने र दोस्रो चरणमा अन्त्यानुप्रास मिलाउँदै उही समूह नेताले पछिल्लो टुक्का भनी समूहले छोप्ने गरिन्छ।

अघिल्लाका तुलनामा पछिल्लो चरणको टुक्का लामो हुन्छ। पश्चिमा संस्कृति र सूचना प्रविधिको बढ्दो प्रभावसँगै पछिल्लो समय ठाडो भाका पनि अन्य लोकसंस्कृतिसँगै ओझेलमा पर्दै गएको छ। यसरी ओझेलमा परेको अमूल्य सम्पदालाई संरक्षण गर्दै यसको ऐतिहासिक पक्षदेखि अहिलेको अवस्थासम्मको विषयवस्तुलाई गहन ढङ्गबाट खोजी लमजुङ दुराडाँडा निवासी लालबहादुर भुजेलले पुस्तकका रूपमा ल्याएर भावी पुस्तालाई ठूलो गुन लगाएका छन्।

भुजेलको ‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ पुस्तकले ठाडो भाकाका बारेमा जान्न, बुझ्न मात्र होइन, थप अध्ययन अनुसन्धान गर्नेहरूका लागि पनि बाटो नै खोलिदिएको छ। पुस्तक पढेपछि ठाडो भाकामा जो कोहीले पनि आफूलाई घुलन गराएरै छाड्छ। ठाडो भाकामा केटा पक्ष र केटी पक्षबीच तत्कालै ठाडै सवालजवाफ नगरी अनुनयविनय पारामा घुमाएर शालीन ढङ्गले उत्तर दिइन्छ।

आफ्नो गीतिधारबाट गाउँदा, भट्टयाउँदा अर्को पक्षको इज्जत, आमोद एवं मान–मर्यादा–प्रतिष्ठामा आघात नपरोस् भन्ने हेतुले शिष्टता र नैतिकताको खुबै ख्याल गरिन्छ। लेखकले भने जस्तै यसमा छेडछाड गर्ने, होच्याउने, हुर्मत लिने, रिस–रागले नाङ्गेझार पार्ने मनसुवा भए पनि आफू तलै परी नम्र र सहिष्णुता अवलम्बन गरेर सुसंस्कारयुक्त र अनुशासित ढङ्गले व्यङ्ग्य गरी छेड हानिन्छ।

यसमा तितो, टर्रो, छाडा, अश्लील र उच्छृङ्खल शब्दहरूको प्रयोग स्वीकाययोग्य हुँदैन, तिखो व्यङ्ग्यवाण प्रहार गर्ने सन्दर्भमा स्थानीय रैथाने बोलीचालीका भाषामा कूटनीतिक पाराले व्यवहार गरिन्छ। अरूलाई पेच पर्ने गरी कटु शब्दको प्रयोग गर्नु अव्यावहारिक र कुसंस्कारयुक्त ठानिन्छ।

मौलिक संस्कृतिका प्रतिपादक एवं प्रवद्र्धक देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङले सुरुमा यस भाकाको श्रीगणेश गरेका थिए। यसमा बौद्धसिं गुरुङ र उनका उत्तराधिकारीका रूपमा मोतीलाल गुरुङले ठूलो योगदान गरे। मोतीलालका शिष्यका रूपमा पञ्चसुब्बाले लमजुङ र कास्कीमा यसलाई विस्तार गरे।

सुरुमा ठाडो भाका केटाकेटाबीच गाउने गरिन्थ्यो, यसो गर्दा रौनक नभएपछि महिलाले पनि गाउन थाले र यसप्रति जनमानसको आकर्षण बढ्दै गयो। विसं २००७ अगाडि, शास्त्रीय सङ्गीतको पाश्चात्य र पूर्वीय जगत्मा ठूलो बाहुल्य थियो भने विसं १९७० का दशकदेखि २०३० का दशकसम्म गण्डकी प्रदेशको भूभागमा ठाडो भाकाले बजार पिटेको राष्ट्रकवि माधव घिमिरेले पुस्तकका भूमिकामा लेखेका छन्।

कृतिमा शुभकामना मन्तव्य भनिए पनि ठाडो भाकाका सम्बन्धमा घिमिरेबाहेक वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, संस्कृतिविद् डा जगमान गुरुङका अमूल्य विचार पनि पठनीय मात्र छैनन्, नेपाली लोकसाहित्य र लोकसंस्कृतिका बारेमा पाइने थुप्रै जानकारीले यसको गरिमालाई अझ उजिल्याएको छ।

राष्ट्रकवि घिमिरेले आफ्नो भूमिका लेखनका क्रममा गण्डकी भेगमा कुनै बेला ठाडो भाका गायकगायिकालाई मात्र लोकदोहोरीका कलाकार ठानिने गरेकामा पछि यो सांस्कृतिक सम्पदा स्वदेशमा मात्रै नभएर विदेशमा समेत नेपालीको हृदयको ढुकढुकी साबित भएको प्रसङ्ग उल्लेख गरेका छन्।

ठाडो भाकालाई दोहोरी गीतको जननी मानिन्थ्यो र गायकगायिका र ठाडोभाकाका पारखीहरू गाएर, नाचेर, सुनेर र हेरेर कहिल्यै नथाक्ने प्रसङ्ग उल्लेख गर्दै डा गुरुङले ठाडो भाका लोकसांस्कृतिक अलौकिक धरोहर, आफ्नै व्याकरण भएको विनयशील, शिष्ट विधा भएर पनि विलयका सङ्घारमा पुगेको भनी चिन्ता व्यक्त गरेका छन्।

संस्कृतिविद् जोशीले आफू लमजुङमा औद्योगिक सर्वेक्षणका काममा खटिएर जाँदा ठाडो भाकासँग परिचित हुन पाएको र जनस्तरबाट औधि रुचाइएको लोकगीतका रूपमा पाएको उल्लेख गरेका छन्।

२५४ पृष्ठको प्रस्तुत अनुसन्धानात्मक ग्रन्थमा भुजेलले नेपाली लोकगीतका क्षेत्रमा चर्चा बटुलेको ठाडो भाकाका बारेमा छ अध्यायमा विस्तृत र गहन अध्ययन गरेका छन्। पहिलो अध्यायमा गण्डकी क्षेत्रको परिचयदेखि ठाडो भाकाको उत्पत्ति, विकासक्रममा विशिष्ट योगदान पु¥याएका बौद्धसिं, मोतीलाल, बखतबहादुर गुरुङ, पञ्चसुब्बा, देउबहादुर दुरा, मनिराम दुरा, आफली घर्तिनीदेखि भेडीखर्के साइँला भनिने दीर्घराज अधिकारीसम्मको व्यक्तित्व र उनीहरूले ठाडो भाकामा पु¥याएको योगदानको चर्चा छ।

दोस्रो अध्यायमा विभिन्न भेगमा गाइएका फरक शैलीमा ठाडो भाकाको चर्चा छ भने यसको पृष्ठभूमि र परिभाषा केलाइएको छ। तेस्रो अध्यायमा विभिन्न शीर्षकका ठाडो भाका छ, जसमा जनजीवनका अनेक पक्षदेखि सामाजिक कुरीति चिर्न गरिएका प्रयत्न र जीवनका सुखदुःखको लय छ।

सो अध्यायमा लेखकले भूकम्प र बाढीपहिरो, जुजु धौ, वैदेशिक रोजगारी, मानव बेचबिखन, खेलकुद, छुवाछुत प्रथा, अपाङ्गता, भ्रष्टाचार, नारी, आभूषण, ज्येष्ठ नागरिक, भौगोलिक अवस्था, कृषि तथा पशुपालन, पर्यटन व्यवसाय, प्रौढ शिक्षालगायत विषयवस्तुमा विभिन्न समूहले गाएका ठाडो भाकाका गीतलाई जस्ताको तस्तै उतारिएको छ।

चौथो अध्यायमा पहिलो अध्यायमा सामान्य चर्चा गरिएका ठाडो भाकाका स्रष्टाहरूको पूर्ण परिचय र नालीबेलीको विवरण छ भने पाँचौंँ अध्यायमा ठाडो भाकाका रचनाहरूको विभिन्न कोणबाट विश्लेषण गरिएको छ। यसमा ठाडो भाकाका हस्ती मानिएका देउबहादुर र पञ्चसुब्बा तथा अन्य स्रष्टाका ठाडो भाका गीतको समीक्षात्मक विश्लेषण दिन खोजिएको छ। छैटौँ अध्यायमा ठाडो भाका कसरी जगेर्ना गर्न सकिन्छ र यसको महत्त्व के छ भनेर प्रकाश पारिएको छ।

चार परिशिष्ट समेटिएको पुस्तकमा पहिलामा ठाडो भाकाको रानो भेडीखर्के साइँलासित शीर्षक दिएर लिइएको अन्तर्वार्ताको मूल अंश प्रस्तुत गरिएको छ भने परिशिष्ट–२ मा दुराडाँडाको अन्तर्य शीर्षक दिइएको छ। यसमा दुराडाँडाको परिचय, राजनीतिक सीमाङ्कन र जातीय स्थितिदेखि लिएर लमजुङको चर्चित हलो क्रान्तिसम्मको चर्चा गरिएको छ।

परिशिष्ट–३ मा नेपालको पुरानो र ऐतिहासिक साहित्यिक पत्रिका ‘शारदा’ को २००४ माघमा प्रकाशित सत्यमोहन जोशीको पञ्चसुब्बा शीर्षकको लेख समाविष्ट गरिएको छ। परिशिष्ट–४ मा केही सुन्दर तस्बिरसमेत समावेश गरिएको छ। लेखक भुजेलले यस ग्रन्थमा ठाडो भाकाका गायनका सन्दर्भमा गेयात्मक शैलीमा बङ्ग्याइएका शब्दहरूको टिपोट गर्नुभएको छ भने विशेष गरी ठाडो भाकामा गाइने मौलिक शब्दहरूको अर्थसमेत उल्लेख गरेका छन्।

ठाडो भाकाको लोक सांस्कृतिक इतिहासजस्तो गहन अनुसन्धानात्मक ग्रन्थ प्रकाशन गरी लेखक भुजेलले नेपाली लोकसाहित्य, लोकसंस्कृति र ठाडो भाकाको प्रवद्र्धनमा इँटा थपेर गुन लगाउने काम गरेका छन्। ठाडो भाकामा अन्तर्निहित भाषिक संरचनादेखि यसले समेटेको ग्रामीण जनजीवनका अनेक विषयवस्तु पनि केलाइएको छ।

जे होस् खोजमूलक अनुसन्धान र साधना हेर्दा बिदावारिधि उपाधिका लागि तयार पारेजस्तो देखिने कृतिले नेपाली लोकगीत र ठाडो भाकाको जगेर्नामा ठूलै योगदान दिनेमा कसैको भिन्न मत रहने छैन। लेखकले ठाडो भाकाको ऐतिहासिक सन्दर्भ खोतल्दै यसको महत्त्वका बारेमा पाठकलाई चित्त बुझ्ने गरी मिहिन ढङ्गमा चर्चा गरेका छन्।

लेखक भुजेलको यो प्रयास प्रशंसनीय र स्तुत्य छ। यस कृति चाहिँ लोकसाहित्य र संस्कृतिप्रेमीका लागि पठनीय र सङ्ग्रहणीयसमेत छ। नेपाली लोकगीत र लोकसंस्कृतिका अध्येता लेखकका साँघुटारमा केही रात (नियात्रासङ्ग्रह), पराकाष्ठा (हाइकुसङ्ग्रह), अकर्मण्यता (ताङ्कासङ्ग्रह), परिवेश (कवितासङ्ग्रह), भुन्टे खरायो (बाल–कवितासङ्ग्रह), चट्पटे र पानीपुरी (बाल–कवितासङ्ग्रह) कृति प्रकाशित छन्।

प्रकाशित: २०८१ कार्तिक २४ गते शनिवार ०१:२६
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना