काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बिहीबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले सहज जित निकालेको छ।
सुदूरले काठमाडौँ गुर्खाजलाई ७३ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
१६८ रनको लक्ष्य पछ्याएको काठमाडौँ ९४ रनका अलआउट हुन पुगेको हो। काठमाडौँले १५.४ ओभर खेल्दै पूरै विकेट गुमाएपछि फराकिलो अन्तरले पराजित हुन पुगेको हो।
काठमाडौँका स्टेफेन इस्किनाजीले ३७ रन बनाउनुबाहेर अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्। भीम सार्की र जेर्हार्ड इरास्मसले १०-१० रन बनाउँदा सुमित महर्जनले १४ रन बटुले। अन्य खेलाडी एकल अंकको रनमा सीमित भए।
बलिङतर्फ सुदूरपश्चिमका नारायण साउद एक्कैले ५ विकेट लिएका थिए। अविनाश बोहराले २ र ब्रान्डन म्याकमुलेन तथा साइफ जाइबले समान एकएक विकेट लिए।
टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएर १६८ रनको लक्ष्य दिएको थियो।
टस जितेको काठमाडौंले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि स्कटिस ब्याटर ब्रान्डन मक्मलेनले अर्धशतक प्रहार गरेका थिए। उनले ३६ बलमा ५३ रन प्रहार गरे। त्यसका लागि उनले ३ चौका र ४ छक्का प्रहार गरे।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ४३ रन बनाए। काठमाडौँका रसिद खानले दुई करण केसी, साहब आलम र जेर्हार्ड इरास्मसले समान एकएक विकेट लिएका थिए।


