काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ।
खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान बेच्ने व्यापारीलाई फाइदा पुगेको छ। दर्शकको यही चहलपहलले मैदानबाहिर चटपटे र खुद्रा सामान बेच्दै आएकी कुमारीको व्यापारमा पनि सुधार आएको छ।
मैदानबाहिर चटपटे र खुद्रा सामान बेच्दै आएकी कुमारी नाम बताउने एक महिलाका लागि एनपीएल आम्दानी बढाउने अवसर बनेको छ। क्रिकेट हेर्न आउने दर्शकको चहलपहलसँगै उनको सानो पसलमा पनि ग्राहक बढेका छन्। तर, हरेक दिन व्यापार उस्तै हुँदैन। कुनै दिन राम्रो आम्दानी हुन्छ, कुनै दिन भने सामान्य खर्च जुटाउन पनि मुस्किल पर्छ।
करिब एक वर्षदेखि त्रिवि क्रिकेट मैदानबाहिर व्यापार गर्दै आएकी कुमारीको दैनिकी सामान बेच्ने र त्यसैबाट घरखर्च जुटाउने मै बित्छ। उनको पसलमा चटपटे, बिस्कुट, चाउचाउ, फ्रुटी र पानी पाइन्छन्। मैदानमा खेल हेर्न आउने दर्शक उनका मुख्य ग्राहक हुन्।
एनपीएल सुरु भएको पहिलो दिन व्यापार राम्रो भएको उनी सुनाउँछिन्। उक्त दिन तीनदेखि चार हजार रुपैयाँसम्मको व्यापार भएको थियो। तर, त्यसपछिका दिनमा व्यापार घटबढ भइरहेको उनी बताउँछिन्। कहिलेकाहिं तीन–चार सय रुपैयाँमै चित्त बुझाउनुपरेको उनले बताइन्।
‘हिजोआज अलिक व्यापार बढेको छ,’ कुमारीले भनिन्, ‘कुनै दिन राम्रो हुन्छ, कुनै दिन व्यापार नै हुँदैन।’
उनका अनुसार खेल हेर्न आउने दर्शकले चटपटे र पानी किन्ने गर्छन्। चाउचाउ पनि बढी बिक्री हुने सामानमध्ये पर्छ। दर्शकको आवागमन बढ्दा व्यापारमा केही सहजता आएको छ। यद्यपि, ग्राहकको चाप र बिक्रीको मात्रा हरेक दिन समान नहुने भएकाले आम्दानीको निश्चितता छैन।
कुमारीका लागि व्यापार भनेको दैनिक जीविकोपार्जनको आधार हो। दिनभर सामान बेचेर कमाएको पैसाबाटै उनले अर्को दिनका लागि सामान ल्याउनुपर्छ। त्यही आम्दानीबाट घरको खानेकुराको जोहो पनि गर्नुपर्छ। त्यसैले व्यापार नहुँदा उनको चिन्ता ग्राहक कम भएकोमा मात्र सीमित रहँदैन, घरको चुल्हो कसरी बाल्ने भन्ने प्रश्नसँग पनि जोडिन्छ।
‘यहाँ व्यापार भएन भने बेलुका गएर तिहुन–तरकारी खाने बाटो हुँदैन,’ उनले आफ्नो बाध्यता सुनाइन्, ‘त्यही पैसाले सामान ल्याउनुपर्छ, त्यही पैसाले घरमा खाने बाटो गर्नुपर्छ।’
एनपीएलले मैदानमा क्रिकेटको रौनक बढाएको छ। खेल हेर्न आउने दर्शकका लागि मैदानबाहिरका साना पसल पनि आवश्यकताका केन्द्र बनेका छन्। यही भीडले कुमारीजस्ता साना व्यापारीलाई पनि केही राहत दिएको छ। तर, दर्शकको चहलपहलसँगै बढ्ने व्यापारले उनीहरूको आर्थिक समस्या पूर्ण रूपमा समाधान गरिसकेको छैन।
कुमारीको सानो पसलमा बिक्री हुने चटपटे, चाउचाउ र पानी उनका लागि सामान्य वस्तु मात्र होइनन्, दैनिक गुजारा चलाउने माध्यम हुन्। मैदानभित्र खेलाडीहरू जितका लागि प्रतिस्पर्धा गरिरहँदा मैदानबाहिर उनीजस्ता साना व्यापारी भने दिनभरको व्यापारबाट साँझको चुल्हो बाल्ने हिसाब गरिरहेका हुन्छन्।
कुमारीजस्तै अन्य धेरै जनाले फुटपात र साना पसलहरु संचालन गरेर राम्रो आम्दानी गरिरहेका छन्।







