काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले पहिलोपटक जित निकालेको छ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले चितवन राइनोजलाई ६ विकेटको जित निकालेको हो।
१३१ रनको लक्ष्य पछ्याएको कर्णालीले १९.५ ओभर खेल्दै ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो।
कर्णालीका शिखर धवनले ४५ रन बनाएका थिए भने चाडविक वाल्टन ३० रन जोडे। देव खनालले २५ रन बनाउँदा जिशान मक्सुदले १२ रनको योगफल तयार पारे। अर्जुन घर्तीले ११ रन जोड्दा गुल्सनले अन्त्यमा चौका प्रहार गर्दै टिमलाई जित दिलाए।
बलिङतर्फ रवि बोपारा, जान निकल लोफ्टी इटन र कुशल मल्लले एकएक विकेट लिएका थिए।
कर्णालीका लागि एनपिएलमा डेब्यु गरेका १६ वर्षीय युवा खेलाडी विपिन शर्माले ३ विकेट लिएपछि चितवन मध्यम स्कोरमा खुम्चिएको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको चितवन २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रनको स्कोर तयार गरेको थियो।
उसका लागि रभि बोपराले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरेका थिए। उनी ४० बलमा ५९ रन बनाएर अविजित रहे।
त्यस्तै कप्तान कुशल मल्लले २३ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा विपिन रावतको ११ रन रह्यो।
अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। मध्यम स्कोरमा समेट्ने क्रममा कर्णालीका शर्माले ३ विकेट लिंदा जेसन मक्सुदले २ तथा सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिए।
चितवनले आफ्नो पहिलो खेलमै काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्समाथि सानदार जित निकालेको थियो। कर्णालीले भने सुरुवाती दुई खेलमा पराजित भएको थियो।
खेल समापन भएसँगै चितवन ४ अंकमा छ भने कर्णालीले दुई अंक जोडेको छ। तीनवटै खेल जितेको जनकपुर बोल्ट ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ।





