काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आइतबार भएको खेलमा सुदूरपश्चिम रोयल्यविरुद्ध चितवन राइनोजले ३३ रनको जित निकालेको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको चितवनले ५ विकेटको क्षतिमा दिएको १६५ रनको लक्ष्य दिएको थियो।
उक्त लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.२ ओभरमा अलआउट भएपछि चितवनले जित हासिल गरेको हो। सुदूरपश्चिमले पुरै विकेट गुमाउँदा जम्मा १३१ रन मात्र बनाउन सकेको थियो।
सुदूरका इशान पाण्डेले सर्वाधिक ३५ रन बनाए। साइफ जाइबले १८ रन बनाउँदा स्कट कुगेलेइनले १६ रन बनाउन सके।
यसैगरी नरेन साउदले १०, दीलप्रीत बज्वाले १२, ब्रान्डन म्याकमुलेनले १२ र विनोद भण्डारीले १० रन बनाउन सकेका थिए।
बलिङमा चितवनका अमर रौटेला, जान निकोल लोफ्टी इटन, कुशल मल्ल र रिजन ढकालले समान २-२ विकेट लिए। सोहिल तनवीर र रञ्जित कुमारले एकएक रन लिएका थिए।
यसअघिको इनिङमा चितवनका हसन एइसाखिलले ६५ रन बनाएका थिए।
खेलमा विपीन रावलले १७, रवि बोपाराले ३६ र कुशल मल्लले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिएका थिए। ब्राडन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी र साइफ जाइबले समान एकएक विकेट लिएका थिए।
जारी एनपीएल प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो हार हो। उता चितवनको भने यो तेस्रो जित हो ।
चितवनले यसअघि पहिलो र दोस्रो खेलमा क्रमशः काठमाडौंविरुद्ध पाँच विकेटको र पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको जित निकालेको थियो।
तेस्रो खेलमा भने चितवनले कर्णाली याक्सविरुद्ध ६ विकेटको हार बेहोरेको थियो।


