पोखरा- पुष १४ र १५ गते हुने दोस्रो ड्रागन बोट फेस्टिबलको तयारीका लागि फेवातालमा पूर्वाभ्यास (रिहर्सल) गरिएको छ। प्रतियोगिता तयारीका लागि मंगलबार पूर्वाभ्यास गरिएको हो।
प्रतियोगितामा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहनेछ।
२ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले ५ हजार डलर, उपविजेताले २ हजार डलर र तृतीयले १ हजार २०० सय डलर पुरस्कार प्राप्त गर्नेछन्। बाँकी १७ वटा समूहलाई प्रतिसमूह पाँच सय डलर प्रदान गरिनेछ।
नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यकासाथ गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह-आयोजनामा पोखरामा दोस्रो ड्रागन बोट फेस्टिबल आयोजना गर्न लागिएको हो।













