एजेन्सी : चार दिनको फरकमा भएको विमान दुर्घटनामा २१७ जनाको निधन भयो।
२५ डिसेम्बरमा कजाखस्तानको अक्ताउमा भएको विमान दुर्घटनामा ३८ जना र २९ डिसेम्बरमा दक्षिण कोरियाको मुआन विमानस्थलमा भएको दुर्घटनामा १७९ जनाको मृत्यु भएको हो।
सन् २०२४ भोलि ३१ डिसेम्बरबाट सकिँदैछ। यसैबीच यो वर्ष विश्वभर धेरै ठूला विमान दुर्घटनाहरू भएका छन्। जसमध्ये विश्वभर भएका ८ वटा ठूला विमान दुर्घटनामा ४०२ जनाको मृत्यु भएको छ। यीमध्ये अधिकांश दुर्घटना मौसम वा इन्जिन फेल भएका कारण भएका छन्।
२०२४ मा भएका ८ ठूला विमान दुर्घटना
यस वर्षको पहिलो ठूलो विमान दुर्घटना २४ जनवरी २०२४ मा रुसको बेलगोरोड क्षेत्रमा भएको थियो। जसमा ७४ जनाको ज्यान गएको थियो। विमानमा ६५ युक्रेनी कैदी र ९ रुसी चालक दलका सदस्य सवार थिए। दुर्घटनापछि रुसको रक्षा मन्त्रालयले विमान युक्रेनबाट प्रहार गरिएको क्षेप्यास्त्रले खसेको दाबी गरेको थियो भने युक्रेनले यसलाई रुसको षड्यन्त्र भनेको थियो।
१२ मार्चमा मा रुसको इभानोभो ओब्लास्टमा इलुसिन ‘आईएल–७६’ कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो। दुर्घटनामा ७ यात्रु र ८ चालक दलका सदस्य थिए। विमानको एउटा इन्जिनमा आगो लागेका कारण दुर्घटना भएको थियो।
१९ मेमा खराब मौसमका कारण इरानी राष्ट्रपति इब्राहिम राईसीको हेलिकप्टर दुर्घटना हुँदा राष्ट्रपति राइसी र विदेशमन्त्री हुसेन अमीराब्दुल्लाहियानसहित ९ जनाको मृत्यु भएको थियो। राष्ट्रपतिसँग ३ वटा हेलिकप्टर थिए, जसमध्ये २ सुरक्षित स्थानमा पुगेका थिए। बाक्लो हुस्सुका बीच पहाडी क्षेत्र पार गर्ने क्रममा दुर्घटना भएको थियो। यो दुर्घटना इरानको राजधानी तेहरानबाट ६०० किलोमिटर टाढा भएको थियो।
१० जुनमा अफ्रिकी देश मलावीका उपराष्ट्रपति साउलोस क्लाउस चिलिमाको विमान दुर्घटनामा मृत्यु भएको थियो। जुन १० मा बेपत्ता भएको विमानको भग्नावशेष भेटिएको थियो, जसमा उपराष्ट्रपतिसहित ९ जनाको मृत्यु भएको थियो। दुर्घटनाको कारण खराब मौसम रहेको बताइएको थियो।
२४ जुलाईमा ९ एन एमई विमान नेपालको काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भयो। यस दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो। बिहान करिब ११ बजे विमान उडेको थियो, तर केही समयपछि नै दुर्घटनाग्रस्त भएको थियो। मृत्यु हुनेमा सौरी एयरलाइन्सका १७ कर्मचारी र २ चालक दलका सदस्य रहेका थिए। यो २१ वर्ष पुरानो विमान मर्मतपछि परीक्षणका लागि उडाइएको थियो।
९ अगस्टमा भोइपास फ्लाइट २२८३ ब्राजिलको साओ पाउलो राज्यको भिन्हेडो सहरमा दुर्घटनाग्रस्त भएको थियो। यस दुर्घटनामा विमानमा सवार सबै ६२ जनाको ज्यान गएको थियो। यो ब्राजिलको घरेलु यात्रुवाहक विमान थियो। दुर्घटनाको कारण पत्ता लगाउन अझै अनुसन्धान भइरहेको छ।
२५ डिसेम्बरमा कजाकिस्तानको अक्ताउमा एक यात्रु विमान दुर्घटनाग्रस्त हुँदा ३८ जनाको मृत्यु भयो। विमानमा ६२ यात्रु र ५ चालक दलका सदस्य थिए। यो विमान अजरबैजानबाट रुसको चेचन्या प्रान्तको राजधानी ग्रोज्नी जाँदै थियो। बाटोमा प्राविधिक समस्या आएपछि अक्ताउबाट करिब ३ किलोमिटर टाढा आकस्मिक अवतरण गर्नुपरेको थियो। अवतरणको क्रममा विमान दुई टुक्रा भएर आगलागी भएको थियो।
२९ डिसेम्बर अर्थात् हिजो दक्षिण कोरियाको मुआन विमानस्थलमा जेजु एयरको विमान दुर्घटना भएको भयो। विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्यसहित १८१ जना सवार थिए। दुर्घटनामा १ सय ७९ जनाको ज्यान गएको थियो भने २ जनालाई उद्धार गरिएको थियो। यो विमान बैंककबाट आउँदै थियो। विमानस्थलमा अवतरण गर्ने क्रममा यसको ल्यान्डिङ गियरमा खराबी आएका कारण पाङ्ग्रा खुल्न सकेन। आकस्मिक पेट अवतरण गर्ने प्रयास गरिएको थियो, तर विमान दुर्घटनाग्रस्त भयो।


