एजेन्सी – भारतको उत्तरप्रदेशस्थित लखिमपुर खेरीमा भारतीय जनता पार्टी (भाजपा) विधायक सौरभ सिंह सोनुमाथि गोली प्रहार भएको छ।
गोली प्रहार भए पनि विधायक सिंह भने आक्रमणबाट जोगिन सफल भएका छन्। भाजपा विधायकमाथि भएको आक्रमणको प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रहरीले भाजपा विधायकको घर वरपर जडान गरिएको सीसीटीभी फुटेज जाँच गरिरहेको छ।
विधायक सिंह आफ्नो बुबा, पूर्व राज्यसभा सांसद जुगल किशोरसँग लखीमपुर खेरीको सदर कोतवाली क्षेत्रको शिव कोलोनीमा बस्छन्। राति अबेर उनी श्रीमतीसँग खाना खाएर घरबाहिर घुमिरहेका अवस्थामा हमला भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।
विधायक सिंहले आफ्नो घर नजिकै रक्सी खाइरहेका दुई युवकलाई सम्झाउन खोज्दा ती दुईले झगडा गर्न थालेका र दुवैले हावामा फायर खोलेर घटनास्थलबाट भागेका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जिन्युजले लेखेको छ।


