त्रिशुली (नुवाकोट) – हृदयघातका कारण निधन भएका पत्रकार श्यामप्रसाद पुडासैनीको आज दिउँसो अन्त्येष्टि गरिएको छ। नुवाकोट बेलकोटगढी नगरपालिका–९ निवासी पत्रकार पुडासैनीको राति साढे ११ बजेतिर काठमाडौँमा निधन भएको थियो।
काठमाडौँको कपनस्थित कोठामा शुक्रबार राति १० बजे अचेत भएका ३३ वर्षीय पत्रकार पुडासैनीलाई उपचारका लागि चाबहिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालमा भर्ना गरिएको थियो। भर्ना गरेलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका उनका साथी अनिल यादवले जानकारी दिए।
शिक्षण अस्पतालमा शवको परीक्षणपश्चात् उनलाई तादी र त्रिशूली नदीको संगम देवीघाट नुवाकोटमा अन्त्येष्टि गरिएको हो।
दाहसंस्कार गर्नुअघि शिक्षण अस्पतालमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मलाई शर्मालगायतले उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिएका थिए।
नेपाल भ्युज डटकममा साढे दुई वर्षदेखि कार्यरत पत्रकार पुडासैनी खोजमूलक समसामयिक विषयमा रहेर पत्रकारिता गर्दै आएका थिए।
शुक्रबार कार्यालयको काम सकेर कपनस्थित आफ्नो निवासमा फर्केलगत्तै हृदयघातका कारण उनी अचेत भएर ढलेका थिए।
नुवाकोटबाट १३ वर्षअघि पत्रकारिता सुरु गरेका उनी यस अवधिसम्म एक दर्जनभन्दा बढी छापा, रेडियो, टिभी र अनलाइन सञ्चारमाध्यममा आबद्ध भएर जोखिमपूर्ण खोज पत्रकारितामा सक्रिय रहँदै आएका थिए।


