एजेन्सी – अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले बिहीबार अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) लाई प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र पूर्व रक्षामन्त्री योभ गालान्टविरुद्ध आईसीसीले पक्राउ पुर्जी जारी गरेपछि अमेरिकाले यो कदम उठाएको हो।
विधेयकमा मतदानका क्रममा २४३ सांसदले यसको पक्षमा मतदान गरेका थिए भने १४० सांसदले विपक्षमा मतदान गरेका थिए। समर्थन गर्नेमा रिपब्लिकन पार्टीका १९८ र डेमोक्रेटिक पार्टीका ४५ सांसद थिए। कुनै पनि रिपब्लिकन सांसदले विधेयकको विरोध गरेनन्।
आईसीसीले गाजामा युद्ध अपराध, मानवअधिकार उल्लङ्घन र नरसंहारको आरोपमा नेतान्याहु र ग्यालान्ट विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
अमेरिकाले यसअघि नै आईसीसीलाई प्रतिबन्ध लगाएको थियो। यसअघि डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०२० मा आईसीसीमाथि प्रतिबन्ध लगाएका थिए।
आईसीसीले अफगानिस्तानमा अमेरिका र प्यालेस्टाइनमा इजरायलको आपराधिक गतिविधिको अनुसन्धान सुरु गरेको थियो। यसविरुद्ध ट्रम्प प्रशासनले आईसीसीमाथि प्रतिबन्ध लगाएको थियो। यद्यपि, जो बाइडेन राष्ट्रपति भएपछि यी प्रतिबन्धहरू हटाइएका थिए।
बिहीबार सदनले विधेयक पारित गरेपछि विदेश मामिला समितिका रिपब्लिकन अध्यक्ष ब्रायन मास्टले भने, ‘अमेरिकाले यो कानून पारित गरेको हो, किनभने कंगारु अदालतले हाम्रो सहयोगी इजरायलका प्रधानमन्त्रीलाई पक्राउ गर्न चाहन्छ।’
नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि धेरै देशले यसप्रति प्रतिक्रिया दिइरहेका छन्।


