एजेन्सी – नेपालमा पनि केही समय प्रतिबन्ध भएको टिकटक अमेरिकामा पनि प्रतिबन्ध हुने खतरा बढेको छ। यस्तो अवस्थामा चीनले टिकटकको भविष्य सुरक्षित गर्ने योजना बनाएको खबरहरू बाहिरिएका छन्।
चीनले टेस्लाका सीईओ एलोन मस्कलाई टिकटक बेच्ने विचार गरिरहेको समाचारहरू आउन थालेका छन्। ब्लुमबर्ग रिपोर्टका अनुसार टिकटक अमेरिकामा सम्भावित प्रतिबन्धबाट बच्न असफल भयो भने यो मस्कलाई हस्तान्तरण गरिनेछ।
यो प्रतिवेदनमा चीनले यो विकल्पलाई गम्भीरतापूर्वक हेरिरहेको दाबी गरिएको छ।
अमेरिकामामा १७० मिलियन मानिसहरू टिकटक चलाउने गर्छन्। रिपोर्टका अनुसार चिनियाँ अधिकारीहरूले मस्कलाई टिकटक बेच्ने विकल्पमा विचार गरिरहेका छन्।
यद्यपि, टिकटक यसको मूल कम्पनी बाइटडान्सअन्तर्गत रहने छ। तर यदि यो सम्भव नभए तिनीहरूले अन्य विकल्पहरू विचार गर्ने जनाइएको छ।
डोनाल्ड ट्रम्पले छिट्टै अमेरिकाको नयाँ राष्ट्रपतिको रूपमा सपथ लिँदैछन् र यसपछि टिकटकमा प्रतिबन्ध हुन सक्ने सम्भावना बढेको छ। ट्रम्पले यसअघि पनि चीनविरुद्ध कडा कारबाही गर्नुपर्ने बताउँदै आएका थिए।
मस्कलाई ट्रम्पको नजिक मानिन्छ र उनले चुनावी अभियानमा पनि उनलाई समर्थन गरेका थिए।
यसैबीच, टिकटकको मूल कम्पनी बाइटडान्सले टिकटकमाथिको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतमा चुनौती दिएको छ। यद्यपि, अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्न सक्ने विज्ञहरू बताउने गर्छन्।
अमेरिकी सांसदहरूले यसअघि पनि टिकटकबारे बोलेका थिए। अमेरिकी कांग्रेसले यसलाई प्रतिबन्धको पक्षमा मतदान गरेको थियो।


