एजेन्सी – इरानको तेहरानस्थित सर्वोच्च अदालतमा शनिबार एक व्यक्तिले गोली चलाउँदा दुई न्यायाधीशको मृत्यु भएको छ।
सर्वोच्च अदालतका प्रवक्ता असगर जहाँगीरले न्यायाधीशहरूको कोठाभित्र पसेर हत्या गरिएको दाबी गरेका छन्।
दुवै न्यायाधीशले राष्ट्रिय सुरक्षा, आतंकवाद र जासुसीसम्बन्धी मुद्दाहरूको सुनुवाइ गरिरहेका थिए। दुवैलाई गोली हानेपछि आक्रमणकारीले आत्महत्या गरेका थिए।
घटनामा अर्का न्यायाधीश पनि घाइते भएका छन्। यसका साथै एक अंगरक्षक पनि घाइते भएका छन्।
आक्रमण स्थानीय समय अनुसार बिहान १० बजेर ४५ मा भएको थियो। निशाना बनाइएका सर्वोच्च अदालतका न्यायाधीशहरू अली रजनी र मोगिसेह रहेका छन्। उनीहरू इरानी न्यायपालिकाका वरिष्ठ न्यायाधीशहरू थिए।
मिडिया रिपोर्टका अनुसार दुवै न्यायाधीशले मृत्युदण्डको सजाय बढी दिने भएकाले उनीहरूलाई जल्लाद मानिन्थ्यो।
आक्रमणकारी न्याय विभागका कर्मचारी थिए। इरान इन्टरनेशनलका अनुसार तेहरानस्थित कोर्ट हाउसबाट धेरै व्यक्तिलाई पक्राउ गरिएको छ। आक्रमणको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन्।
सन् १९८८ मा पनि न्यायाधीश अलि रजनीको हत्याको प्रयास भएको थियो। सो क्रममा उनको मोटरसाइकलमा चुम्बकीय बम राखिएको थियो।


