एजेन्सी – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको जनवरी २० मा सपथ ग्रहण कार्यक्रम छ।
तर उनको सपथग्रहणअघि नै देशका विभिन्न भागमा उनीविरुद्ध विरोध प्रदर्शन भएका छन्। शनिबार हजारौं मानिसले विभिन्न ठाउँमा ट्रम्पविरुद्ध प्रदर्शन गरेका थिए।
राजधानी वासिङ्टनमा धेरै गैरसरकारी संस्थाहरूको समूहले ‘पिपल्स मार्च’ नामक ब्यानरमा ट्रम्पको नीतिविरुद्ध प्रदर्शन गरेका छन्। ट्रम्पबाहेक प्रदर्शनकारीले इलोन मस्क र उनका सहयोगीहरू विरुद्ध पोस्टर र ब्यानरहरू देखाएर विरोध गरेका हुन्।
यसअघि पनि यो समूहले जनवरी २०१७ मा ट्रम्पको पहिलो सपथ ग्रहणको समयमा विरोध गरेको थियो।
सपथ ग्रहणका लागि डोनाल्ड ट्रम्प राजधानी वासिङ्टन पुगेका छन्। ट्रम्पले शनिबार दिउँसो फ्लोरिडाको वेस्ट पाम बीचबाट वायुसेनाको सी–३२ सैन्य विमानमा उडेका थिए। उनीसँगै उनकी श्रीमती मेलानिया र छोरा ब्यारोन ट्रम्प पनि थिए।


