काठमाडौँ – पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको पुरुष टोली उपविजेता बनेको छ। नेपाल फाइनलमा भारतसँग पराजित भएको हो।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा केहीबेर अघि सम्पन्न फाइनल खेलमा नेपाल आयोजक भारतसँग ५४-३६ अंकले पराजित भएको हो। यसअघि आजै भएको महिलातर्फको फाइनल खेलमा पनि नेपाल भारतसँग नै ७८-४० अंकले पराजित भएको थियो।
पुरुषतर्फ नेपाल समूह ‘ए’को उपविजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको हो। नेपाल पहिलो खेलमा भारतसँग ४२–३७ अंकले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले पेरूलाई ८०–३४ अंकले, तेस्रो खेलमा ब्राजिललाई १३४–८ अंकले तथा चौथो खेलमा भुटानलाई ९८–८ अंकले हराएको थियो। नेपालले क्वाटरफाइनलमा बङ्गलादेशलाई ६७–१८ अंकले तथा सेमिफाइनलमा इरानलाई ७२–२० अंकले पराजित गरेको थियो।
यसैगरी नेपालको महिला टोली पनि उपविजेतामै सीमित बनेको छ। महिला टोली फाइनलमा भारतसँगै पराजित भएको हो।
नेपाल भारतसँग ७८-४० अंकले पराजित भएको हो। यसअघि शनिबार भएको सेमिफाइनल खेलमा नेपालको महिला टोलीले युगान्डालाई ८९-१८ अंकले पराजित गरेको थियो। क्वाटरफाइनल खेलमा भने नेपालले इरानलाई १०३–८ अङकको हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।
समूह ‘सी’ मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३-२४ अंकले, दोस्रो खेलमा जर्मनीलाई ७३-३४ अंकले, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० अंकले तथा चौथो खेलमा बङ्गलादेशलाई ८४-२४ अंकले पराजित गरेको थियो।


