एजेन्सी – सुडानमा सेनाविरुद्ध लडिरहेको अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) ले शनिबार ओमदुरमान सहरको तरकारी बजारमा सर्वसाधारणमाथि आक्रमण गर्दा ५६ जनाको मृत्यु भएको छ।
अल जजिराका अनुसार यसमा कम्तीमा १५८ जना घाइते भएका छन्।
यसैबीच, सुडानका संस्कृति मन्त्री र सरकारका प्रवक्ता खालिद अल अलिसिरले आक्रमणको निन्दा गर्दै हताहत हुनेमा धेरै महिला र बालबालिका रहेको बताएका छन्। उनले आक्रमणबाट ‘निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको’ पनि बताए।
उनले यो आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन भएको बताए।
सुडानमा करिब दुई वर्षदेखि सेना र अर्धसैनिक बलबीच द्वन्द्व चलिरहेको छ। यो द्वन्द्व अप्रिल २०२३ मा सुरु भएको थियो, जब सेना र आरएसएफका नेताहरू बीच शक्ति संघर्ष भयो।
पछिल्लो दुई वर्षमा सुडानमा २८ हजारभन्दा बढी मानिसको ज्यान गएको छ भने लाखौं मानिसहरू विस्थापित भएका छन।


