काठमाडौँ- शुक्रबारबाट एकसाथ तीन नेपाली फिल्म हलमा आएका छन्।
समर निरौला निर्देशित ‘ममी’, प्रशान्त तामाङको निर्देशन रहेको ‘सारंग’र जीवन सेञ्चुरीको निर्देशनमा तयार भएको ‘जुनाः एक व्यथा’ एकसाथ प्रदर्शनमा आएका हुन्। फ्राइडे रिलिजको परम्परा धान्न यी तीन फिल्म मैदानमा भिड्न आएका हुन्।
‘जुनाः एक व्यथा’मा बालविवाहपछि एक बालिकाको जीवनमा आइपर्ने उतारचढावको कथा छ। कलिलो उमेरमा पतिले दिने यातना र सासूबाट हुने क्रुद्ध व्यवहारलाई फिल्ममा देखाउन खोजिएको छ।
फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, अनिता बस्नेतलगायतको अभिनय छ।
फिल्मका निर्माता दीपकप्रसाद घिमिरेले बालविवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले फिल्म निर्माण गरेको बताउँछन्। ‘नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथा अन्त्य गर्न फिल्मले भूमिका खेल्ने विश्वास छ,’ उनले भने।
पर्वतको सालिजा ओख्रेनीमा छायाङ्कन गरिएको फिल्म बीबी अनुरागी र रमेश सेञ्चुरीको सङ्गीत, रामेश्वर हुमागाईँको डिओपी छ। फिल्मको वितरणमा एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनी खटिएका छन्।
बाल मनोविज्ञान, बाल अधिकार, धनी–गरिब परिवारबीचको खाडलको कथा सारंगले प्रस्तुत गरेको छ। सम्बन्ध विच्छेदले निम्त्याउने समस्या फिल्मको सहायक कथावस्तु हो।
फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, विश्व स्याङ्बो, दीपीका थापा, सुमनसागर जंग केसी, प्रभात श्रेष्ठका साथमा बालकलाकारद्वय सम्राट र आदित्य पनि अभिनय छ।
फिल्मको निर्माता प्रेम तामाङ र फूलमाया तामाङ हुन्। दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको सम्पादन मित्र डि गुरुङले गरेका हुन्। फिल्ममा शंकर थापा स्माइल र नकुल कार्कीको सङ्गीत, सुष्मा राईको कोरियोग्राफी छ। फिल्मलाई देशभर स्टेसन ५ ले वितरण गरेको हो।
हरर फ्यामिली ड्रामा ममीमा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका छ। फिल्ममा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ।
फिल्मको कथा समर निरौला र पूर्णिमा जोशीले लेखेका हुन्। लोकराज जोशी र पूर्णिमा जोशी निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा सुमन कोइराला हुन्।
‘ममी’को छायाङ्कन निशाल पौडेल र शरद महतोले संयुक्त रूपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ।
फिल्मलाई काठमाडौँ उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गरेको हो।


