यो रेडियो नेपाल हो। अब गोपाल बस्नेतबाट समाचार सुन्नुस्। सेती अञ्चलको अछाम जिल्लाको सदरमुकाम मङ्गलसेनको सुरक्षार्थ तैनाथ सुरक्षा फौजको टोलीमाथि सशस्त्र माओवादी आतंककारीहरूको ठूलो जत्थाले हिजो राति गरेको आक्रमणमा सुरक्षा फौजतर्फ ४८ सैनिक जवानहरू तथा प्रहरी सुरक्षाकर्मीहरूतर्फ ४९ जनासमेत प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र उहाँकी श्रीमती र एकजना हुलाकका कर्मचारी र एक जना स्थानीय गरी जम्मा १०२ जनाको दुःखद् निधन भएको छ। सुरक्षा फौजको मद्दतका लागि थप सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन भइसकेको र घटनास्थललाई चारै तर्फबाट घेराबन्दी गरी आतंककारीहरूलाई खोजतलास गर्ने काम भइरहेको पनि रक्षा मन्त्रालयले जनाएको छ…।
२०५० को दशकको अन्त्यतिर मेरो उमेरभन्दा जेठो पानासोनिक रेडियोले लयबद्ध सुस्केरा निकाल्थ्यो। हत्या, अपहरण, आक्रमण, गोलाबारी, सहिद, बेपत्ता, कारबाही, सुरक्षा फौज, लडाकु, आतंककारी…। भोजपुरको सुदूर गाउँ दाँवामा पुग्ने खबरहरू यस्तैयस्तै थिए।
माओवादीको फैलँदो महामारीले गाउँ आक्रान्त थियो। हरेक साँझबिहान ७ बजेको समाचार सुन्नु घरको दैनिकी थियो। जसै बाले मूल ओछ्यान छेउमा झुन्डिएको रेडियोका कान चिमोट्नुहुन्थ्यो, परिवारका अन्य सदस्यका पनि कान ठाडा हुन्थे। बा, आमा र फूपुहरूको अनुहारमा सन्नाटाको सन्ताप छाउँथ्यो। बुवा तत्कालीन शाही नेपाली सेनाको जागिरे। सरकारी जागिर, त्यसमा पनि सेनाप्रहरीमा आबद्ध भएका व्यक्तिका घरमा माओवादीको त्यो महामारी केही वर्षअघि तराईका धानबालीमा फैलिएको सलह कीराको प्रकोपभन्दा कम थिएन।
बुवा पाइलापाइलामा मृत्यु बोकेर हिँड्नुभएको थियो। त्यो त्रासको बारुद हावामा घुलिएर रेडियो हुँदै हाम्रो घरसम्म आइपुग्थ्यो। साँझबिहान बज्ने यस्ता समाचारले बा, आमा, हजुरआमा र फुपूहरूको मन कति कुँडिदो हो? त्यसबेला हाम्रो कल्पनाभन्दा बाहिरको कुरा थियो। त्यो कुन चाहिँ पिता होला र? युद्धभूमिमा खटिएको एक्लो छोरोको सम्झनाले जसको मनमा सुनामी नचलोस्। बा चुक पोखिएजस्तो अमिलिनुहुन्थ्यो। संसारमा ती को पत्नी होलिन्? जसको पति युद्धमा होमिँदा शान्त बस्न सकून्। आमाको अनुहारमा नैराश्यका धर्सा मोटामोटा हुँदै जान्थे। एक्लो माइतीको पर्खाइमा उसको शुलताको कामना कुन चेलीले नगर्दिहुन्? फुपूहरू विरह सुसेल्थे।
मनोरञ्जनका कार्यक्रममा बाको रुचि थिएन। यदाकदा असारे गीतबाहेक अन्य गीतहरू उहाँले सुनेको मैले कहिल्यै देखिनँ।
बा, आमा, हजुरआमा र फुपूहरूको हृदय कति कुँडियो होला? कति भत्कियो होला सिसासरी? उहाँहरूले कहिल्यै एकअर्कासामु अभिव्यक्त गर्नुभएन। शायद गर्नुभयो कि ! त्यो बेला दिदी, म र भाइले थाहा पाएनौँ। वा थाहा दिइएन। बुबालाई सेनाको जागिरबाट छुटाएर माओवादीमा पठाउन दिइएका चरम दबाब बाले कसरी झेल्नुभयो होला? त्यो त म जान्दिनँ। तर साँझबिहान पिँढीमा उभिएर दिइने ती धम्कीपूर्ण हुकुम मेरो मस्तिष्कमा अझै ताजा छन्।
२०६० को दशकको सुरुवातको एक दिन। घाम तरूनो नहुँदै माओवादीको टोली हाम्रो आँगनमा आएर उभियो। त्यसबेला हाम्रो गाउँतिरका एरिया इन्चार्ज थिए–शिशिर। उनको थर तिमिल्सिना थियो, नाम बिर्सिएँ। पछि उनी जन्डिसका कारण बिते। तिनै शिशिरसहित तीन जनाको टोलीले कडा लवजमा आदेश दिए। घरपछाडिको मालबाँसको झाँङमा पसेर सबैभन्दा अग्लो बाँस काटेर आँगनमा कालो झण्डा गाडे। अनि मागे ५० हजार चन्दा। त्यो बेला ५० हजार निकै ठूलो रकम थियो। चन्दा मागिसकेर शिशिरले निर्देशन दिए- ए बुढा! दही झिक्!
हाम्रा बा पनि अलि झोँकी स्वभावका हुनुहुन्थ्यो। धम्की दिएर चन्दा माग्दासम्म ठिकै थियो। दही माग्ने शैली पनि उस्तै देखिएपछि बा किन हो कुन्नि आक्रोशित हुनुभयो। हेर्दाहेर्दै बाको अनुहार रातो हुँदै गयो। आवेगमा जवाफ दिनुभयो- तेरो बाउले पालिदिएको छ भैंसी? र दही माग्छस्?
त्यसबेला केही माओवादी थिए, जो, माओवादीमाथि प्रश्न गर्नु वा जवाफ फर्काइनु क्रान्तिको बर्खिलाप ठान्दथे। र, प्रश्न सोध्ने तथा उनीहरूले भनेको नमान्नेलाई ‘वर्गसफाया’ नाम दिएर सफाइ गर्थे।
बाको आक्रोशित जवाफ सुनेर घरका अरू सदस्य त्रसित भए। अब के गर्ने हुन् भन्ने डरले आमा र फुपू लगलग काँपे।
तर धन्न माओवादीहरूले प्रतिक्रिया दिएनन्। जवाफ फर्काइनुलाई प्रतिक्रान्ति ठानेनन्। प्रश्न सोधिनुलाई वर्गशत्रु सोचेनन्।
‘कस्तो नापिएको बुढो रहेछ!’ भन्दै उनीहरू निस्किए।
केही दिनपछि बाले गाउँमै कतै कसैलाई भेटेर चन्दा बुझाएर फर्केपछि खुकुरी झिकेर आँगनमा गाडिएको कालो झण्डासहितको बाँस तीन टुक्रा पार्नुभयो।
त्यो बेला भोजपुरलाई पूर्वको कर्णाली भनिन्थ्यो। यातायातको कुनै सुविधा थिएन। नुन बोक्न पैदलै धनकुटाको हिले पुग्नु पर्थ्यो। बाहरूले यदाकदा धरान, चतराबाट नुन बोकेको कथा सुनाउनुहुथ्यो।
000
घरमुनि खानेपानीको धारो थियो। हामी तीन दिदीभाइ पानी भर्दै थियौँ। एक जना अग्लो, गोरो मान्छे उकालो लाग्दै थियो। उसले हामीतिर हेरेर सोध्यो– कसका छोराछोरी हौ नानी हो?
हामीले डराउँदै जवाफ दियौँ- बस्नेतका।
ग्यालिनमा पानी भरेर उकालो चढेर घर पुग्दा हामीलाई कसका छोराछोरी भनेर सोध्ने मान्छे पिँढीमा बसिरहेका थिए। हामीले कोही पाउना आएको ठान्यौँ। तर पछि थाहा भयो- हामी त उनकै सन्तान रहेछौँ।
हामीलाई त्यसबेलासम्म पनि बुवाको अनुहार याद थिएन। म मान्छे चिन्ने नहुँदै उहाँ जागिरका दौरान घर छाडेर युद्धमा होमिनुभएको थियो। ०६२/०६३ को जनआन्दोलनपछि मुलुकमा शान्ति स्थापना भएपछि त्यही दिन उहाँ घर फर्किनुभएको रहेछ।
000
बुवा युद्धमा रहँदा द्वन्द्वका समाचार सुनाउने त्यो पानासोनिक रेडियो हाम्रो घरमा भित्रिएको ०४७ सालमा हो। पञ्चायतकालको अन्त्य हुनु र घरमा रेडियोको भित्रिनु भने संयोग मात्र रहेछ । खासमा त्यो रेडियो बुवाको बिहे हुँदा आमासँगै दाइजोका रूपमा भित्रिएको रहेछ। जसलाई बेहुलीजस्तै नौलो कपडाको कभरले चिरिचट्ट सिँगारेर बाले भित्तामा झुन्ड्याउनु भएको थियो। दिनभर त्यो रेडियोले काठमाडौँको सिंहदबारदेखि गीत, समाचार र रेडियो नाटकहरू सुनाउँथ्यो। र त्यही थियो ‘बा’को सारथी।
बाको खास चासो समाचारमा थियो। बिहान ७ बजेको बुलेटिन र साँझ ७ बजेको बुलेटिनपछि बज्ने घटना र विचार अनिवार्य सुन्नु बाको दैनिकी थियो। अझ धान रोप्ने र थन्काउने बेला मौसम नसुनी हुन्थेन। बाले यदाकदा रेडियोमा आउने मौसमसम्बन्धी जानकारीका आधारमा कामको तालिका बनाउनुहुन्थ्यो। तर रेडियोले मौसमको जानकारी दिए पनि त्यसबेला मौसमसम्बन्धी आकलन भने मिल्दैन थियो। पानी पर्ने सम्भावना भनेका दिन टन्टलापुर घाम लाग्थ्यो। अविरल झरी परिरहेको बेला घाम लाग्छ भनेर फुस्फुसाइरहन्थ्यो। तैपनि बाले मौसमसम्बन्धी जानकारी भने सुन्न छाड्नुभएन।
मनोरञ्जनका कार्यक्रममा बाको रुचि थिएन। यदाकदा असारे गीतबाहेक अन्य गीतहरू उहाँले सुनेको मैले कहिल्यै देखिनँ।
केटाकेटीले बिगार्देलान् भन्ने भयले हो या त ब्याट्री महँगो पर्ने भएकाले कुन्नि! बाले हामीहरूलाई भने रेडियो सुन्न दिनुहुन्थेन। तर उहाँ घरमा नभएको मौका ढुकेर चाहिँ म बाल कार्यक्रम सुन्थेँ। स्कुलबाट फर्किएपछि गृहकार्य गर्दासमेत बा नहुँदा म रेडियो बजाएरै गर्थेँ। यत्रो सानो बाकसमा कत्रा मान्छे बस्दा हुन्? के खाँदा हुन्? कहाँबाट ल्याउँदा हुन्? कसरी अटेका होलान् यति सानो डिब्बामा यति धेरै मान्छेहरू? शौचालय छ कि छैन होला? मनमा अनेक प्रश्न उब्जिन्थे। खोलेर रेडियो भित्रको संसार नियाल्न मन लाग्थ्यो। तर बाको डरले रेडियो खोलेर हेर्ने हिम्मत भने आएन।
शान्तिप्रकियापछि मुलुकमा एफएम रेडियोको बाढी आयो। एमएम बज्ने रेडियोहरू सहजै उपलब्ध हुन थाले। तर बाका लागि उही पुरानो रेडियो सेट र रेडियो नेपाल नै प्रिय थियो। अन्य एफएमतर्फ उहाँले चासै दिनुभएन। त्यस बेलासम्म गाउँमा धेरै घरमा रेडियो पुग्न थालिसकेको थियो। छिमेकतिर काठमाडौँका कान्तिपुर, इमेज र इटहरीको सप्तकोशी एफएम घन्किन्थे।
त्यो बेला गाउँका एकाध युवा वैदेशिक रोजगारीमा गएका छन् भन्ने सुनिन्थ्यो। हाम्रोतिर उनीहरूलाई लाहुरे भन्ने चलन भने थिएन। कोहीले सिधै विदेशी भन्थे, कसैले परदेशी।
परदेश गएको कसले हो कुन्नि! ठीकसँग याद नभए पनि बालाई एफएम बज्ने रेडियो सेट उपहार आयो। एरियल ठड्याएर कान बटारेपछि मिटर घुम्थ्यो। अनि स्टेसन समात्थ्यो। रेडियो नेपालको समचार सुनिसकेपछि ओछ्यानमा सुस्ताउँदै बाले एफएफ सुन्न थाल्नुभयो।
०६४ सालको तिहारको मेसोमा बहिनीको हातको टीका लगाउन बा भोजपुरकै फालिकोट जानुभयो। बा कहिले कता जानुहुन्छ र एफएम घन्काउन पाइन्छ भनेर कुरिबसेको मेरा लागि भने भर्खरै सकिएको दसैँ फर्किए जस्तै भयो। म निरन्तर रेडियोका कान बटार्न थालेँ। स्टेसन फेरिरहेँ। झिरझिर झिरझिर पार्दै नयाँ नयाँ एफएमका नयाँ नयाँ मान्छेहरूको बोली सुन्न थालेँ। मलाई छुट्टै अलौकिक संसारमा पुगेजस्तो भयो। म रेडियोको कान बटारिरहेँ। नयाँ नयाँ आवाजमा रमाइरहेँ।

रेडियोका साथमा राज बस्नेत।
यही क्रममा मिटर नामक सेतो धागो जस्तो पदार्थ दुई टुक्रा बन्न पुग्यो। रेडियो मर्माहत भयो। जब धागो चुँडियो, मेरो मन पनि उसैगरी चुँडिइहाल्यो। डरले शरीर फुल्यो, रिंगटा चलेजस्तो भयो, मुटुको गति जोरजोरसँग चल्न थाल्यो।
मलाई थाहा थियो- कि अब मैले नाम्रोसँग गाली खान्छु, कि कुटाइ। कुटाइ खाने सम्भावना नै धेरै रहेको निष्कर्ष निकालेँ। मुटुको गति झन् बढ्यो। रेडियो सुन्न पाएर तिहारपछि दसैँ फर्किएजस्तो भएको मलाई कालरात्रि आएजस्तो भान भयो। बिग्रिएको रेडियो यथास्थानमा राखेर खुर्रर्र कुदेर भागेँ त्यहाँबाट।
बा फर्किएपछिको कुटाइ सम्झिएर पसिना छुटिरहेको थियो। तर पनि आफूलाई केही थाहा नभएजसरी सामान्य अवस्थामा राख्न खोजेँ।
बा फर्कनुभयो। मेरो हंशले ठाउँ छाड्यो। एकदिनको पैदलयात्रा गरेर घर आइपुग्नुभएका बाले त्यो दिन रेडियो सुन्नुभएन। एक दिनलाई बाँचियो।
अर्को दिन बिहानै रेडियोको कान बटार्नुभएछ। तर रेडियो खुलेन। मिटर चुडिँएको थाहा भइगयो। अब यो कुकृत्य मैले बाहेक अरुले गर्न सक्दैन भन्ने घाम जत्तिकै छर्लंग थियो। म अलि ढिला उठेँ। मुख धोएर आँगनमा के पुगेको थिएँ, बा सिंह गर्जिएजस्तो गर्जिनुभयो- मेरो रेडियो कसले चलायो हँ?
भाइले सोध्यो- के भयो बा?
बाले थप्नुभयो- मिटर चुँडियो।
म बोल्न सकिनँ। होइन भनौं कसैले पत्याउँदैन, हो भनौँ कसरी भन्ने? पारिवारिक कचहरीले गल्ती मैले गरेको हो भन्ने ठहर गर्न धेरै समय लगाएन। त्यसपछि गाली होइन रामधुलाइ गर्ने मुडमा बा देखिनुभयो। म कोदीबारीतिर हानिएँ। करिब ५/७ मिनेट बा र नातीबीच म्याराथन चल्यो। म्याराथनकै क्रममा ढाडपछाडिबाट ठूलो आवाज आयो- ढ्याम्म।
बाले ढाडमा मक्किएको बाँस प्रहार गर्नुभएछ। मक्किएको बाँस धुजाधुजा भयो। म जंगलतिर कुलेलाम ठोकेँ।
दिनभर उतैउतै भौतारिएँ। बाल मस्तिष्कले घर फर्किन्नँ भन्ने लाग्यो। तर घुर्की कसलाई लगाउने? साथमा कोही थिएन।
जब भोकको मुसा पेटभरि यताउता दौडिन थाल्यो, घर फर्किन्नँ भन्ने घुर्कीको आकार पनि साँघुरिँदै गयो। अँध्यारो भएपछि लुसुक्क विस्तारैविस्तारै घर फर्किएँ। त्यतिन्जेल बाको रिस सेलाइसकेको रहेछ।
चेतावनी दिँदै भन्नुभयो- एकपटकलाई भइगो! अब रेडियो छोइस् भने तेरा हात काटिदिन्छु!
कुटाइ खाएर रुँदा अझै रुन्छस् भनेर चट्कन थप्ने त्यो जमानामा त्यतिको चेतावनी सामान्य नै थियो। त्यसपछि पनि लुकिचोरी रेडियो सुन्न भने छाडिएन।
000
एकजना मित्र थिए– हेमराज। प्राथमिक तहदेखि उच्च माध्यमिक शिक्षा पूरा गर्दासम्म हामी सँगसँगै पढ्यौँ। एक हिसाबले साथी भन्दा माथि थिए उनी। कतिपय अवस्थामा उनले अभिभावकीय भूमिका पनि निभाएका छन्। उनको घर हाम्रो घरबाट नजिकै थियो। घरबाट स्कुल पुग्न कम्तीमा आधा घण्टा लाग्थ्यो। उनी पनि रेडियोका उत्तिकै पारखी। स्कुल पुग्ला र फर्कँदा हाम्रो काम थियो-रेडियोमा बोलिटोपल्ने। कहिले उनी प्रस्तोता हुन्थे र म अतिथि। कहिले म प्रस्तोता र उनी अतिथि। हामी प्रायः राजनीतिक अन्तर्वार्ताको नाटक गर्दथ्यौँ। हामी राजनीति बुझ्न र थोरबहुत अभ्यास गर्न रुचाउने स्वभावका थियौँ।
एसएलसी (कक्षा १० पछिको परीक्षा)पछि प्लस टू पढ्न सदरमुकाम गयौँ। ०६७ साल ताका भोजपुरमै सामुदायिक रेडियो स्थापना हुने भयो– रेडियो चोमोलुङ्मा। त्यसका लागि रेडियो जक्की तालिम खुल्यो। दुवैले लियौँ। संयोगले तालिममा पनि हेमराज प्रस्तोता बने म अतिथि। उनी रेडियोलाई चाहिएका ५ जना प्रस्तोतामध्ये एकका रुपमा चुनिए। मेरो बाटो फेरियो। रेडियोमा बोल्ने इच्छाका साथ प्रयास पनि सफल भइनँ। अवसर प्राप्त भएन।
अनि म अक्षरको खेतीमा रमाउन थालेँ। एकाध वर्ष लोकप्रिय कार्यक्रम प्रस्तोता भएपछि हेमराजले पनि बाटो मोडे। उनी आजकल वित्तीय साक्षरता बढाउन र अभ्यास गराउन जिल्ला–जिल्लाका कुनाकन्दरा धाउँछन्। म पनि करिब १२ वर्ष भोजपुर र काठमाडौँका करिब दर्जन सञ्चारमाध्यममा अक्षरको खेती गरेर बाटो मोडेर परदेसिएको छु।
000
अन्तर्राष्ट्रिय रेडियो दिवसलाई छेको पारेर रेडियोबारेका अनूभूति खोतल्दा आज रेडियो र मेरोबीचको साइनो बिरानो भइसकेको छ। यथार्थमा रेडियोमा बोल्ने त्यो उत्कट इच्छा पनि मरिसकेको छ। यदि त्यो बेला पानासोनिक रेडियो दाइजोस्वरुप घर भित्रिन्थेन भने, बाले दिनहुँ सुन्नुहुन्थेन भने ममा रेडियोप्रति आकर्षण जाग्थेन होला।
रेडियोप्रति आकर्षण जागेर बोल्ने रहर पूरा गर्न जाँदा असफल हुन्थिनँ भने लेखेरै एक दशकसम्म पेट पाल्ने औसत पत्रकार पनि बन्थिनँ होला। औसत पत्रकार हुन्थिनँ भने कमसलै सही यो स्मृति पनि लेख्थिनँ होला। २०६७ देखि अहिलेसम्मको कालखण्डमा मैले जुन घुम्ती कुइनेटामा यात्रा गरेँ, त्यसमा थोरबहुत त्यो पुरानो रेडियोको योगदान छ।
म सञ्चार क्षेत्रतिर आकर्षित हुने प्रमुख कारण बाको रेडियोमोह नै हो। हामीलाई हुर्काउने, पढाउने र यहाँसम्म पुर्याउने पनि उनै हुन्। विडम्बना, रेडियो दिने मामलीका हजुरबा, त्यही रेडियो सुनिरहने मेरा बा र त्यो पुरानो रेडियोबीचको सम्बन्ध टुटिसकेको छ। घरको कुनै कुनामा माकुराको जालो र धुलो लागेको रेडियो अझै पनि छ, तर बा छैनन्।


