काठमाडौँ- अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्यासी’ बनेकी छन्। ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरेकी हुन्।
ओशो सन्यासी बनेसँगै शिल्पाको नाम ‘माँ प्रेमा हाँस्या’ राखिएको छ। फेसबुकमा पोस्ट गर्दै अभिनेत्रीसमेत रहेकी ओशोमार्गी शोभिता सिम्खडाले शिल्पाले नवसन्यास लिएको जानकारी दिएकी हुन्।
‘अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोर्याओस् र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस् धेरै धेरै शुभकामना,’ शोभिताले फेसबुकमा लेखेकी छन्।
‘लज्जा’बाट फिल्ममा डेब्यु गरेकी शिल्पाले हवल्दार सुन्तली, फागु, किस्मत २, मंगलम्’लगायतमा अभिनय गरेकी छन्। उनको पछिल्लो फिल्म ‘भिलेन’ ७ वर्षअघि रिलिज भएको थियो।
निर्माता छवि ओझासँग विवाह गरेकी शिल्पाले २०८१ को दसैँअघि सम्बन्धविच्छेदको प्रक्रियालाई पूरा गरेकी छन्।






